• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

झुलाघाटबाट ओलीको दाबी- हाम्रो अभियानले सरकारी अकर्मण्यता र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउँछ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले आजबाट थालेको अभियानले सरकारी अकर्मण्यता र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउने दाबी गरेका छन्।

‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटन गर्दै मध्यपहाडी लोकमार्ग यात्राले देशको नीति निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले भने- पार्टीले शुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्राका रूपमा परिभाषित भएको छ । यो यात्रा संवादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने सङ्कल्प यात्रा हो । जसलाई एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।

उनले यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने दाबी गरे । यात्राका क्रममा मध्यपहाडी भू–भागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सीप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने उनको भनाइ छ।

यस्तै, कार्यक्रममा महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार पार्टी अध्यक्ष ओलीको नेतृत्वमा शुरू गरिएको यात्राले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

उनले भने- यात्राका क्रममा स्थानीय जनतासँग संवाद गरिने छ । पुष्पलाल लोकमार्ग निर्माणले ल्याएको परिवर्तन नजिकबाट नियालिने छ । जनतामा रहेका विभिन्न खालका भ्रमहरूलाई चिर्ने काम हुने छ । देशको समग्र विकासको खाका कोर्न सहयोग पुग्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖