गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढी आरूघाट बजार पुगेपछि बजार खाली गराइएको छ।
आज बिहान आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति पुगेको छ।
बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ भागेका थिए। चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्याएको जनाइएको छ।
बाढी आरूघाट पुगेपछि प्रहरीले सम्भावित जोखिमबाट बच्न माइकिङ गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिरहेको छ।
