• Tuesday 6th of October 2026

युद्धमा इजरायललाई समर्थन गरिरहेको अमेरिकाको अचानक इजरायल विरुद्ध चकित पार्ने कदम !


  • धनकुटा खबर
  • .

काठमाडौं । विगत दुई महिनादेखि इजरायल र हमासबीच जारी युद्धका बीच अमेरिकाले इजरायलविरुद्ध ठूलो कदम चालेको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार इजरायल विरुद्ध अप्रत्याशित कारबाही गर्दै अमेरिकाले वेस्ट बैंकमा बसोबास गर्ने यहूदी कट्टरपन्थीमाथि यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसको मतलब वेस्ट बैंकमा बसोबास गर्ने यहूदी अतिवादीहरूलाई अमेरिका आउन प्रतिबन्ध लगाइएको छ।

अमेरिकाको यो कदम अप्रत्याशित छ किनभने अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि अमेरिका इजरायलको साथमा दृढताका साथ उभिएको छ । तर पछिल्ला केही दिनमा इजरायलको अन्तर्राष्ट्रिय आलोचना निकै बढेको छ । अमेरिकाका लागि इजरायलका राजदूतले यस विषयमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

अमेरिकी विदेशमन्त्रीले भने “विदेश विभागले आज नयाँ भिसा प्रतिबन्ध नीति लागू गर्दैछ। यस अन्तर्गत शान्ति, सुरक्षा, स्थायित्वमा खलल पुर्‍याउने, हिंसा भड्काउने वा आधारभूत सेवाहरूमा नागरिकको पहुँचमा बाधा पुर्‍याउने सहित काममा संलग्न रहेको विश्वास गरिएका व्यक्तिहरूलाई अमेरिका आउन प्रतिबन्ध लगाइएको छ।” ”

अमेरिकाले इजरायलमाथि यो कारबाही यस्तो समयमा गरेको हो जब विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत हप्ता इजरायललाई प्यालेस्टाइनमा जारी इजरायली हमलाविरुद्ध बाइडेन सरकारले कारबाही गर्ने चेतावनी दिएका थिए।

यद्यपि अमेरिकाले व्यक्तिगत भिसा प्रतिबन्धको घोषणा गरेको छैन। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यी प्रतिबन्धहरू मंगलबारदेखि लागू हुने बताएका छन्। यो प्रतिबन्ध लागू भएपछि वेस्ट बैंकमा बसोबास गर्ने यहुदीहरूले अमेरिका जान पाउने छैनन्।

अमेरिकाले वेस्ट बैंकमा बस्ने कति जना यहुदीमाथि यो प्रतिबन्ध लगाएको भन्ने जानकारी दिएको छैन। साथै, गोपनियतालाई ध्यानमा राख्दै, प्रतिबन्धित व्यक्तिहरूको पहिचान खुलाउन अस्वीकार गरेको छ। तर अमेरिकी विदेश मन्त्रालयले यो हिंसा जारी रहेमा आगामी दिनमा थप कडा कदम चालिने बताएको छ।

युद्धविरामको केही दिन बाहेक इजरायलले प्यालेस्टाइनमा युद्ध सुरु भएदेखि लगातार बमबारी गरिरहेको छ । यस युद्धमा हालसम्म १७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा अमेरिकाले हालैका साताहरूमा नागरिकको हताहति रोक्ने प्रयासलाई तीब्र बनाएको छ । तर इजरायलले दिनप्रतिदिन आफ्नो कारबाहीलाई तीव्र बनाउँदैछ र सघन जनसंख्या भएको पश्चिम गाजालाई निशाना बनाउँदैछ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्ति जारी गर्दै इजरायली सरकारले वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध हिंसा गर्ने चरमपन्थीहरूलाई जवाफदेही बनाउनको लागि अझ बढी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति बाइडेनले बारम्बार यी आक्रमणहरूलाई अस्वीकार्य भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖