• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कुवेतबाट नेपाली चेलीको चित्कार : छिटो नेपाल झिकाउनुहोस्, नत्र आत्महत्या गर्छु


  • धनकुटा खबर
  • .

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिलालाई श्रीलंकाकी महिला एजेन्टले बन्धक बनाएको पाइएको छ । करिब ७ महिलाअघि गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी गंगा गिरीलाई एक महिनादेखि बन्धक बनाएको तथ्य बाहिरिएको हो । नेपालबाट उनकै आफन्त नाता पर्ने एजेन्ट रामबहादुर नेगीमार्फत कुवेत पुगेकी गिरी एक महिनादेखि बिरामी अवस्थामा रहेकी छन् ।

६ महिना जति कुवेती नागरिकको घरमा काम गरेपछि बिरामी परेकी उनले आफूलाई नेपाल फर्काउन एजेन्टलाई भने पनि एजेन्ट नै सम्पर्कविहीन भएको गुनासो गरिन् ।

‘म यहाँ आएको सात महिना भयो, ६ महिनासम्म कुवेती नागरिकको घरमा काम गरें, पछिल्लो समय बिरामी भएर स्वदेश फर्किन खोज्दा यहाँको एजेन्टले तिमीलाई ४ लाखमा किनेको हो, यो पैसा दिए तुरुन्तै टिकट काटेर पठाइदिन्छु भन्छ,’ शनिबार राति सम्पर्कमा आएकी उनले रुँदै भनिन्, ‘त्यत्रो पैसा मैले कहाँबाट ल्याउनु ? नेपालमा रहेको एजेन्टलाई सम्पर्क गर्दा हुन्छ, हुन्छ भन्थ्यो, अहिले त सम्पर्कविहीन नै भयो, मेरो घरमा नानी पनि बिरामी छ, मलाई यहाँबाट छिटो ननिकाले पासो लगाएर आत्महत्या गर्नुबाहेक अरू कुनै विकल्प छैन ।’

उनले आफूलाई उद्धार गर्न आग्रह गर्दै लागेको ऋण नेपाल आएपछि तिर्ने पनि बताइन् । ‘मलाई जसरी भए पनि उद्धार गर्नुहोस्, बरु म नेपाल आएर खेतबारी बेचेर भए पनि पैसा तिर्छु, यहाँ मलाई शारीरिक तथा मानसिक यातना पनि दिइएको छ, मसँग अरू पनि साथीहरू छन्, उनीहरूलाई पनि एजेन्टले कुट्ने गरेको छ,’ उनले भनिन् ।

नातामा ज्वाईं पर्ने ओमप्रकाश श्रेष्ठलाई आफ्नो समस्या सुनाएपछि श्रेष्ठले पहल गरेको तर कुनै नतिजा आउन नसकेको उनले सुनाइन् । श्रेष्ठसँगको सम्पर्कमा एजेन्टले साता, १० दिनमा उद्धार गरेर नेपाल फर्काउँछु भनेको तर एजेन्ट नै सम्पर्कविहीन भएकाले आफू तनावमा रहेको उनले सुनाइन् ।

एजेन्ट भनिएका नेगीले अहिलेसम्म सयौं नेपाली चेलीलाई गैरकानुनी बाटो हुँदै कुवेत पु¥याउने गरेको पीडितले बताउने गरेका छन् ।

उता, विनोद कुम्वर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा पुगेर समस्यामा परेका १ हजारभन्दा बढी केस आफू कहाँ आएको बताए । ‘हामी कुवेतीको घर घरमा पुगेर उद्धार गर्न सक्दैनौं, त्यो अधिकार न त हामीसँग न त यहाँ रहेको नेपाली दूतावाससँगै छ, घरमा गएर उद्धार गर्दा उल्टो हामी आफंै फस्छौं, यस्ता केस धेरै छन् ।’

उनले उनीहरू भागेर दूतावाससम्म पुगे भने ट्राभल डकुमेन्ट बनाउन मद्दत गर्न सकिने उनले बताए । पछिल्लो समय कुवेतीले खदमाको फोन ट्र्याक गरेर कोंग बोल्छ उसैलाई खदमा भगाएको केस लगाएर पक्राउ गर्ने गरेकाले उद्धार गर्न थप समस्या हुने गरेको अध्यक्ष सुवेदी बताउँछन् । दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने रहेका छन् । उनीहरूले आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थान पनि जानकारी नहुँदा उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖