• Tuesday 6th of October 2026

अदालतबाट इमरान खानको पार्टी वैधानिक ठहर, चुनाव चिन्ह पनि फिर्ता पाए


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तानमा अर्को वर्ष फेब्रुअरी ८ मा हुन लागेको आम निर्वाचनअघि राजनीतिक उथलपुथल चर्किएको छ । यस्तो अवस्थामा देशका पूर्वप्रधानमन्त्री इमरान खानका लागि राहतको खबर आएको छ । पेशावर उच्च अदालतले उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को चुनाव चिन्हमाथिको प्रतिबन्ध हटाएको छ।

पेसावर उच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै क्रिकेट ब्याटलाई पीटीआईको चुनावी चिन्हको रूपमा पुनर्स्थापित गरेको छ। अदालतले पीटीईआईको आन्तरिक निर्वाचनलाई असंवैधानिक घोषणा गर्ने आयोगको निर्णय पनि खारेज गरेको छ ।

आयोगको यस निर्णयको विरुद्धमा इमरान खानको पार्टी पीटीआई अदालतमा पुगेको थियो । न्यायमूर्ति कामरान हयातले पीटीआईको यस याचिकामा आफ्नो फैसला सुनाउँदै यस्तो आदेश दिएका हुन् ।

यसअघि पाकिस्तानको निर्वाचन आयोगले इमरानको चुनाव चिन्ह ब्याटमाथि प्रतिबन्ध लगाएको थियो । यति मात्र होइन, आयोगले पाकिस्तानका १७५ दर्ता भएका दलहरूको अद्यावधिक सूची जारी गरेको थियो, जसमा पीटीआईको नामसमेत थिएन।

पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुन लागेको छ । पीटीआईका संस्थापक इमरान खानले पञ्जाब प्रान्तस्थित आफ्नो गृह क्षेत्र मियाँवालीबाट उम्मेदवारी दर्ता गराएका छन् । इमरान अहिले जेलमा छन् । गत अगस्ट ५ मा अदालतले इमरानलाई तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।

उच्च अदालतको फैसलालाई इमरानले सर्वोच्च अदालतमा चुनौती दिएका थिए । सुनुवाइपछि सर्वोच्चले इमरानलाई जमानत दियो तर अन्य दुई मुद्दामा पक्राउ परेकाले उनी बाहिर निस्कन सकेनन् ।

पाकिस्तानको संसद ९ अगस्ट २०२३ मा मध्यरातमा विघटन भएको थियो। पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शाहबाज सरिफको सल्लाहमा मध्यरातमा यसलाई विघटन गरेका थिए। योसँगै शाहबाज सरिफको सरकारको कार्यकाल पनि समाप्त भएको थियो ।

संसद विघटनसम्बन्धी जारी सूचनामा संविधानको धारा ५८ बमोजिम राष्ट्रिय सभा विघटन गरिएको उल्लेख छ । संसदको पाँचवर्षे कार्यकाल अगस्ट १२ मा औपचारिक रुपमा सकिँदै थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖