• Monday 5th of October 2026

अमिताभले सँधैका लागि छोडेका हुन् केविसी ? आँखाभरि आँशु लिएर यसो भने


  • धनकुटा खबर
  • .

मुम्बई । अमिताभ बच्चन भारतीय मनोरञ्जन क्षेत्रको एक उत्कृष्ट नाममा गनिने गर्दछन् । पाँच दशक बढी समय सिने क्षेत्रमा खर्चिएका बच्चन उमेरले ८१ वर्ष पुगे ।

बलिउडका महानायक मानिने बच्चनले आफ्नो अभिनय यात्रामा थुप्रै हिट चलचित्रहरु दिएका छन् । २०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका बच्चन दिवार, शोले, जञ्जीर, ब्ल्याक, सत्ते पे सत्ता, सिलसिला, बागवान, जस्ता अन्य थुप्रै चलचित्रका लागि परिचित छन् ।

वर्ष २००० बाट बच्चनले रियालिटी टिभी शो ‘कौन बनेगा करोडपति’ मार्फत डेब्यु गरे । सुरुवाती चरणदेखि हालसम्मको १५ वटै सिजनहरूमा उनी नै कार्यक्रमको होस्टका रुपमा देखिदै आएका छन् ।

दुई दिन अघि सोनी टिभीले आफ्नो इन्स्टाग्राम पेजमा कौन बनेगा करोडपति सिजन १५ को ग्राण्ड फिनालेको सानो प्रोमोशनल भिडियो पोष्ट गरेको थियो । उक्त भिडियोमा बच्चन भावुक देखिएका छन् । उक्त शोबाट बिदा माग्दैगर्दा उनको आँखामा आँशु देखिएको छ । छचल्किएको आँशु र उनले दिएको अभिव्यक्तिका कारण उनी अब यस कार्यक्रमबाट बिदा लिन लागेका हुन् कि भन्ने अधिकतम दर्शकले अनुमान लगाएका छन् ।

मरुन टक्सिडो, सेतो शर्ट र चाँदी रंगको टाई लगाएर देखिएका बच्चनले भिडियोमा भनेका छन्–

‘अब म जाँदैछु । र भोलीबाट यो मञ्च अब सजिदैन । आफ्ना मान्छेहरुलाई अब भोलिबाट म यहाँ आउन सक्दिनँ भनेर भन्न न मनले मान्दो रहेछ न हिम्मत नै आउँदो रहेछ । अहिलेको लागि म अमिताभ बच्चन यो मञ्चबाट अन्तिमचोटी भन्न चाहन्छु, शुभरात्री, शुभरात्री, शुभरात्री ।’

बिदा माग्दैगर्दा उनको आँखामा आँशु देखिएको छ। उक्त भिडियो हेरेपछि उनका फ्यानहरूले बच्चनले शोबाट सन्यास लिन लागेको अड्कल काटिरहेका छन भने उनले यो सिजनको लागी बिदा मागेका हुन या सधैँको लागी बिदा मागेका हुन भन्ने कुरामा पनि अन्यौलमा छन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖