• Tuesday 6th of October 2026

पुनम पाण्डेविरुद्ध बलिउडकर्मीले गरे सजायको माग, भन्छन्- सबैको भावनाविरुद्ध खेलेकी छन्


  • धनकुटा खबर
  • .

मुम्बई । आफ्नो मृत्युलाई लिएर सामाजिक सञ्जालमा गरिएको ठट्टा पुनम पाण्डेलाई महँगो साबित हुन सक्छ । पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको झूटो समाचार फैलाएर सचेतनाको नाम दिएकी पाण्डेविरुद्ध आवाज उठ्न थालेको छ ।

भारतीय फिल्मकर्मीले उनीविरुद्ध कार्वाही हुनुपर्ने माग राखिरहेका छन् । भारतीय फिल्म तथा टिभी निर्देशक संघका अध्यक्ष अशोक पण्डितले अभिनेत्रीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

भिडियो सन्देशमा पण्डितले भनेका छन्, ‘एउटी अभिनेत्रीले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गएको झूटो समाचार दिनु निकै दुःखद र स्तब्ध बनाएको छ । उनले सबैको भावनासँग खेलेकी छन् । उनले पाठेघरको मुखको क्यान्सरजस्ता रोगबाट पीडित सबैको खिल्ली उडाएकी छन् । यो एक गम्भीर रोग हो । उनीहरूले यस रोगविरुद्ध एकजुट भएर काम गरिरहेका भारत सरकार, डाक्टर र नर्सहरूको कडा परिश्रम र कामको खिल्ली उडाएकी छन् ।’

पूनमको यो चालमा सबै सेलिब्रेटीले विरोध गरिरहेको बेला अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले पनि यो नक्कली पीआर स्टन्टप्रति असन्तुष्टि व्यक्त गरेको छ । संस्थाको तर्फबाट भनिएको छ, ‘मोडल तथा अभिनेत्री पुनम पाण्डेको नक्कली पीआर स्टन्ट निकै कमजोर छ । तपाईको प्रचारका लागि पाठेघरको मुखको क्यान्सर जस्ता रोगको कारण प्रयोग गर्नु मान्य छैन । यो खबरपछि अब भारतीय फिल्म उद्योगमा कुनै पनि व्यक्तिको मृत्युको खबर पत्याउन मानिसहरु हिचकिचाउन सक्छन् । फिल्म उद्योगमा कोही पनि पीआरको लागि यो स्तरमा झुकेका छैनन् ।’

एसोसिएसनले गरेको पोस्टमा यस्तो पनि लेखिएको छ, ‘पुनम पाण्डेका म्यानेजरले झुटो समाचारको पुष्टि गरे, त्यसैले पुनम पाण्डेसँगै उनको म्यानेजरमाथि पनि एफआइआर दर्ता गर्नुपर्छ ताकि आफ्नै मृत्युको कथा कसैले फैलाउन नपरोस् ।’

‘द कश्मीर फाइल्स’ फेम्ड निर्देशक विवेक अग्निहोत्रीले एक ट्वीट सेयर गर्दै लेखेका छन्, ‘सोशल मिडियाको बढ्दो चुनौतीलाई हेरेर यहाँ पनि केही नियमहरू हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेष गरी समाचार निर्माता र आफूलाई प्रभावकारी भनाउनेका लागि । यो सनसनीखेज र नौटंकीलाई सामान्यीकरण बनाउनु खतरनाक छ । मृत्युको झुटो समाचार त सुरुवात मात्र हो । अब के हुन्छ हेरौं ।’

पुनमको पोष्टमा कमेन्ट गर्दै एकता कपूरले पनि लेखेकी छिन्, ‘यो सचेतना भनेको कुन खोप लिनु हुँदैन भन्ने हो । यस्तो असंवेदनशील अभियानलाई प्रोत्साहन गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ ।’

फिल्ममेकर रामगोपाल वर्माले आफ्नो फरक प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘तपाईले यस विषयमा ध्यानाकर्षण गराउनको लागि अपनाउनु भएको चरम तरिकाको लागि तपाई आलोचना हुन सक्छ, तर कसैले तपाईको नियतमाथि प्रश्न उठाउन सक्दैन वा तपाईले यो धोखाबाट के हासिल गर्नुभयो भनेर भन्न सक्दैन । पाठेघरको मुखको क्यान्सरको बारेमा छलफल अहिले जताततै भैरहेको छ । तिम्रो आत्मा तिमी जस्तै सुन्दर छ । तिम्रो दीर्घायु र सुखमय जीवनको कामना गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖