रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युक्रेनी सेनाको आक्रमणमा परी मृत्यु भएको छ ।
रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको छ ।
तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो ।
परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ । रुस पुग्नुअघि उनी दुई वर्ष कतार बसेका थिए । त्यसअघि उनले रोल्पाको लिबाङमा समेत मोबाइल पसल सञ्चालन गरेका थिए ।
