• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बारामा ३ जनाको ज्यान जाने गरी विस्फोट भएको वस्तु ६५ सयमा किनबेच भएको खुलासा


  • धनकुटा खबर
  • .

बारा । सोमबार बाराको निजगढमा तीन जनाको ज्यान लिने गरी विस्फोट भएको शंकास्पद वस्तु ६५ सय रुपैयाँमा किनबेच भएको खुलेको छ ।

पूर्वपश्चिम राजमार्गसँगै रहेको निजगढ बजारमा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कसप (लेथ) मा सोमबार नाम नखुलेको शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । लेथ सञ्चालक मगर पनि सो विस्फोटमा मारिएका छन् ।

झण्डै १५ किलो तौलको त्यो पदार्थ के थियो, अहिलेसम्म खुलेको छैन । तर, त्यसको किनबेच भने ६ हजार पाँच सय रुपैयाँमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नाम नखुलेको झण्डै १५ किलो तौलको त्यो पदार्थलाई लेथमा राखेर काट्ने क्रममा अचानक विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

‘अन्य कबाडी सामानसँगै त्यो विस्फोटक पदार्थ पनि होलसेलमा किनबेच भएको पाइएको छ,’ बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने, ‘केही दिनअघि एक सय २३ किलो कबाडी सामान किन्दा त्यो शंकास्पद बस्तु पनि कबाडी सञ्चालकले तौल गरेर किनेको पाइएको छ । हामी थप अनुसन्धानको क्रममा छौँ ।’

उक्त शंकास्पद वस्तु बेच्ने निजगढ नगरपालिका ९ का २९ वर्षीय टीकाराम पाख्रिन र त्यो वस्तु किन्ने रमेश जैसवाल पक्राउ परिसकेका छन् । भारतीय नागरिक जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन् ।

‘त्यो वस्तु बेच्ने पाख्रिन र किन्ने जैसवाले पनि त्यो शंकास्पद वस्तु के थियो, आफूलाई थाहा नभएको बताएका छन्,’ एसपी काफ्लेले भने, ‘पाख्रिनले त्यो वस्तु आफूले अन्यत्रबाटै ल्याएको बयान दिएका छन् । हामी उनले भनेको लोकेसनमा थप अनुसन्धानको लागि जाने तयारीमा छौँ ।’

पाख्रिनले त्यो वस्तु बारा भन्दा बाहिरी ठाउँबाट ल्याएको बयान दिएको एसपी काफ्लेले बताए । पाख्रिनले त्यो वस्तु ल्याएको ठाउँ भने एसपी काफ्लेले खुलाउन चाहेनन् ।

केही सुरक्षा अधिकारीले त्यो शंकास्पद वस्तु ‘प्रोजेक्टाइल इन्टेरियल’ हुन सक्ने आशंका व्यक्त गरेका छन् । त्यो वस्तु ‘इन्डियन फिल्ड गन १०५ एच ई प्रोजेक्टाइल’ रहेको हुनसक्ने उनीहरुको आशंका छ ।

तर, एसपी काफ्लेले भने त्यो विस्फोटक पदार्थ के हो अहिले नै भन्न सक्ने अवस्था नरहेको दाबी गरे। बारा प्रहरीले त्यो विस्फोटक पदार्थको टुक्रा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाउने तयारी गरेको छ।

त्यो विस्फोटमा परेर वर्कसप सञ्चालक निजगढकै ४५ वर्षीय रेशम मगर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका २० वर्षीय रितु रजतको मृत्यु भएको छ ।

विस्फोटमा परेर निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगञ्ज महानगरपालिका– ९ घर भएका ३४ वर्षीय फिरोज देवान र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖