• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

हिउँद अवधि लम्बियो, भोलिबाट पश्चिमी वायु सक्रिय हुँदै, शनिबार काठमाडौंमा पानी पर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । यो वर्षको हिउँद अवधि लम्बिने भएको छ । मौसमविद्हरूका अनुसार मंसिर १५ देखि फागुन १७ गतेसम्मलाई हिउँद अवधि मानिन्छ । यो अवधिलाई मात्रै हिउँद मान्ने हो भने आजबाट हिउँद अवधि सकिनेछ ।

तर, भोलि (शुक्रबार)बाट पुनः पश्चिमी वायु सक्रिय हुँदै छ । र यो वायुमा हिउँद यामकै विशेषता (क्यारेक्टर) भएका कारण यो वर्षको हिउँद अवधि लम्बिने मौसमविद्को भनाइ छ । मनसुन प्रवेश गर्ने र बाहिरिने अवधी अगाडि वा पछाडि सर्ने जस्तै हिउँदे अवधि पनि पछि सर्ने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले स्पष्ट पारे ।

“भोलि साँझबाट पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने भएको छ । भोलि बेलुकाबाट पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्न सुरु हुनेछ,” मौसमविद् अधिकारी बाह्रखरीसँग भन्छन्, “त्यसको असरका कारण केही दिन पुनः हिउँदे वर्षा हुनेछ ।” सामान्यतः आजसम्म मात्रै हिउँद अवधि रहने भनिए पनि भोलिबाट पुनः सक्रिय हुने पश्चिमी न्यूनचापीय प्रणाली हिउँदे वर्षा गराउने ‘क्यारेक्टर’कै रहेको उनी बताउँछन् ।

यसबारे जानकारी गराउन भोलि बिहानसम्म जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन नै जारी गर्ने तयारी गरिरहेको छ । भोलिबाट पुनः सक्रिय हुने प्रणालीले पश्चिमी भू–भागमा तुलनात्मक रूपमा धेरै र मध्य तथा पूर्वी क्षेत्रमा कम वर्षा गराउनेछ ।

भोलिबाट नै छिटपुट हुँदै सुरु हुने वर्षा आइतबारसम्म जारी रहने मौसमविद् अधिकारी बताउँछन् ।

भोलि राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् अधिकारी बताउँछन् । लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा हुनेछ ।

शनिबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने उनको भनाइ छ । वाग्मती प्रदेशको तराई र कोसी प्रदेशको पहाडी भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

“आइतबार पनि वर्षाको सम्भावना रहेको छ । यसबारे हामी विशेष बुलेटिनमा जानकारी दिनेछौँ,” मौसमविद् अधिकारीले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖