• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

होस्टेलमा मृत शालिनको बलात्कारपछि हत्या भएको परिवारको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौँ । गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्ययनरत आफ्नी छोरी शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको उनले बताए । त्यहाँको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको उनको दाबी छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘लास झुन्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने दाबी अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो ।’ घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेको मृतकका बाबु दीपेन्द्रले आरोप लगाए ।

आफू काठमाडौँमा भएको बेला उक्त घटना घटेको जानकारी विद्यालयबाट आएको र ‘म नआईकन कुनै पनि प्रक्रिया अगाडि नबढाउनुस्, म दुई घण्टामा आइपुग्छु,’ भनेर विद्यालय प्रशासनलाई जानकारी गराउँदा त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनसायले विभिन्न क्रियाकलाप भइसकेको उनको दाबी छ । आफू त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’को ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाइ गरिएको उनको भनाइ छ । साथै, शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको उनले बताए । ती सबै काम प्रमाण नष्ट पार्ने उद्देश्यले भएको उनको भनाइ छ ।

सो घट्नामा आफ्ना भाइ हरिलाई प्रहरीले निर्घात कुटपिट गरेको र बढी बोलेमा गोली हानी मारिदिन्छौँ भनेर प्रहरीले नै धम्की दिएको उनले बताए । उक्त घटनामा आफूहरूले शंकाको घेरामा रहेका विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएको बताए । मृतकका बाबु दीपेन्द्रले आफ्नी छोरीलाई यिनै तीन जनाले बलात्कार गरी हत्या गरेको दाबी गरे ।

साथै, विभिन्न दबावकाबीच उक्त घट्नामा चार दिनपछि प्रहरीले जाहेरी लिएको उनले बताए । मृतक शालिनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव बहानामा ल्याएको र पोस्टमार्टम भएपनि शव अहिलेसम्म नबुझेको उनले बताए । त्यहाँको प्रहरी प्रशासनले निष्पक्ष छानबिन गरेर आफूलाई न्याय दिन्छ भन्ने कति पनि विश्वास नरहेको बताउँदै उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मार्फत उक्त घटनाको छानबिनको माग गरे । मृतक शालिनका साथीहरूलाई समेत अहिले सम्पर्कमा आउन दिएको उनको भनाइ छ ।

मृतक शालिनकी आमा सगुनले आफूहरूलाई घट्नाबारे ढिलो खबर गरेको बताइन् । भरतपुरदेखि प्रहरी पुग्दासमेत आफूहरूलाई र उक्त विद्यालयनजिकै बस्ने गरेकी मृतक शालिनकी हजुरआमालाई समेत जानकारी नगराइएको उनको भनाइ छ । उनले आफूहरूलाई शंका लागेका व्यक्तिहरूको नाम उल्लेख गरेर किटानी जाहेरी दिन पाउनुपर्ने उनले बताइन् । आफूजस्ता आमाहरूले भोलिका दिनमा छोरीहरू यसै गरी गुमाउन नपरोस् भनेर आफू न्यायको लागि लागिपरेको बताइन् । आफ्नी छोरीलाई दोस्रो निर्मला पन्त नबनाइदिन उनले सबैलाई आग्रह गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖