• Friday 16th of October 2026

भारतमा पतिसँगै रहेकी स्पेनिस युवतीलाई सामूहिक बलात्कार, तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

भारतीय राज्य झारखण्डको दुम्का जिल्लामा स्पेनिस युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

गएराति ती युवतीलाई सामूहिक बलात्कारका साथै लुटपाट र कुटपिटसमेत गरिएको हो।

उनी सडक छेउमा आफ्ना पतिसँग पालमा बसिरहेका बेला उक्त घटना भएको बीबीसी हिन्दीले जनाएको छ।

दुम्काका एसपी पीताम्बर सिंह खेरवारले पीडित स्पेनिस युवती र उनका श्रीमान्‌लाई प्रहरी संरक्षणमा दुम्का ल्याइएको बताएका छन्।

एसपी खेरवारले बीबीसी हिन्दीसँग भनेका छन्, ‘शुक्रबार राति हंसडिहा प्रहरी चौकीको गस्ती टोली कुर्महाट हुँदै गइरहेका बेला स्पेनिस दम्पतीले प्रहरी टोलीलाई रोकेर आफूविरुद्ध भएको घटनाबारे जानकारी गराएका थिए। त्यहाँका प्रहरीलाई उनीहरूको भाषा बुझ्न कठिन भएको थियो।यति हुँदाहुँदै पनि गस्ती टोलीले उनीहरूलाई नजिकैको अस्पतालमा पुर्‍यायो, किनभने उनीहरू घाइते थिए र केही ठाउँबाट रगत बगिरहेको थियो। उनीहरूलाई सामुदायिक स्वास्थ्य केन्द्र सरैयाहाटमा प्राथमिक उपचार गरिएको छ।’

उनले थपे, ‘हामी तुरुन्तै घटनास्थल पुगेर उनीहरूसँग कुरा गर्‍यौँ। आफूलाई सामूहिक बलात्कार भएको र घडी आदि लुटिएको पीडित महिलाले बताइन्। यसै क्रममा उनलाई कुटपिट पनि भयो।’

त्यसपछि उनीहरूबाट प्राप्त जानकारी र हुलियाका आधारमा राति नै तीन जनालाई हिरासतमा लिएको र बाँकी आरोपितको पनि खोजी भइरहेको उनले बताएका छन्।

एक स्थानीय पत्रकारका अनुसार ती स्पेनिस युवती र र उनका श्रीमान् बेग्लाबेग्लै बाइकमा हंसडिहा हुँदै बिहारको भागलपुर जाँदै थिए। रात परेको हुनाले उनीहरू कुर्महाट नजिकैको सडकमा पाल टाँगेर बसे। त्यसपछि नजिकैका केही युवाहरू त्यहाँ पुगेर बलात्कार र कुटपिट गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖