• Sunday 18th of October 2026

सरकारमा जान एकीकृत समाजवादी लचिलो


  • धनकुटा खबर
  • .

काठमाडौं,२२ फागुन । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आह्वान गरेको छ । बुधबार बिहान ११ बजेका लागि सचिवालय बैठक आह्वान गरेको हो ।

बुधबार बस्ने सचिवालय बैठकले सोमबार निर्माण भएको नयाँ ४ दलीय गठबन्धन सरकारमा सहभागी हुने नहुनेबारे फाइनल डिसिजन गर्नेछ । सोमबार बसेको बैठकले प्रधानमन्त्रीले लिएका उद्देश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछि मात्रै आफ्नो दृष्टिकोण तय गर्ने निर्णय गरेको थियो।

यसअघि सोमबार साँझनै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरस्थिति निवासमा नेपाल र प्रचण्डबीच भएको भेटवार्तामा हतारमा सत्ता समीकरण परिवर्तन गरेको भन्दै प्रचण्डसामू नेपालले गुनासो पोखेका थिए । तर, जवाफमा प्रचण्डले वामपन्थी दलहरुबीचको एकताको ढोका पुनः खोल्ने प्रयास आफूले गरेको र त्यसमा सबै दललाई समेटेर लैजाने आश्वासन दिएका थिए ।

सोमबार नै पूर्व प्रधानमन्त्री तथा नवगठबन्धनका प्रमुख नेता केपी शर्मा ओलीले पनि नेपालसँग टेलिफोनमा कुराकानी गरेका थिए । टेलिफोन कुराकानीमा ओलीले नेपाललाई पुरानो कुरा भुलेर नयाँ ढंगले सहकार्य गर्न प्रस्ताव राखेका थिए । ओलीसँगको कुराकानी र ओलीले दिएको ढाडसले केही हदसम्म नेपाल वर्तमान सत्ता गठबन्धनप्रति लचिलो देखिएका छन् ।

सरकारमा आउन प्रधानमन्त्री प्रचण्ड स्वयंले गरेको आग्रह र लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेका ओलीको ढाडसपछि थप निर्णयका लागि सचिवालय बैठक बोलाईएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖