• Sunday 18th of October 2026

प्रचण्डले एउटै गोलीले माधव नेपाल र देउवाजीलाई शिकार गर्नुभयो : भीमसेनदास प्रधान


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्रको रुपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल दर्ज भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई जनताको नजरमा सबैभन्दा बढि गिरेको नेताको रुपमा पनि चित्रण गरे ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । उनले प्रचण्डलाई अस्थिर नेतामात्रै नभएर धोकेबाज नेताको पनि संज्ञा दिए । आफ्नो सम्बोधनको सुरुवातमै अमेरिकी राष्ट्रपति अब्राहम लिन्कनको बहुचर्चित भनाई ‘यु क्यान फूल सम अफ द पिपुल अल द टाएम, एण्ड अल अफ द पिपुल सम अफ द टाईम, बट यु क्यानट फूल अल अफ द पिपुल अल अफ द टाईम’ सुनाए । उनले प्रचण्डले अब सबैलाई सधैं मुर्ख बनाउन नसक्ने दाबी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भने–‘प्रचण्डजीले हाम्रा नेताहरुलाई पटक पटक धोका दिनुभएको छ, पहिले सुरुमा उहाँले गिरिजाबाबुलई झुक्याउनुभयो, राष्ट्रपतिको निर्वाचनमा रामराजाप्रसाद सिंहलाई उठाउनुभयो । उहाँले गिरिजाबाबुलाई राष्ट्रपति बनाउँछु भन्नुभएको थियो, तर उहाँ त्यो सहमतिबाट ब्याक हुनुभयो । अनि अर्कै उम्मेद्वार उठाउनुभयो । हाम्रो गिरिजाबाबुले पनि रामवरणलाई उठाएर जिताएर ल्याउनुभयो । हामीसँग सरकारमा भएकै बेलामा प्रचण्डले २०७४ मा एकाएक वाम गठबन्धन बनाएर हामीलाई झुक्याउनुभयो । फेरि २०७७ मा नेकपामा विवाद हुँदा पछि छोडेर हामीसँग जोडिन आउनुभयो । ०७९ को निर्वाचनमा हामीसँग गठबन्धन गर्नुभयो, अनि निर्वाचनपछि फेरि बालकोट भागेर जानुभयो, त्यताबाट पनि भागेर फेरि हामीसँग आउनुभयो । अब कतिपटक झुक्याउने ?’

उनले नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो सभापति शेरबहादुर देउवा महामुर्ख नरहेको भन्दै अब झुक्याउने खेला बन्द गरिदिने चेतावनी दिए । उनले भने,‘अब कतिपटक झुक्याउने ? केपी ओली महामर्खु छन् र ? शेरबहादुर देउवा महामुर्ख छन् र ? त्यसकारण उहाँको बारम्बार झुक्याउने प्रवृत्तिले सबैभन्दा बढि घाटा, बेइमान र गद्दार र धोकेबाज भनेर चिनिएको कोही छ भने प्रचण्ड नै हो । हाम्रो समाजमा एउटा लोग्ने मान्छे तीन वटा विवाह गर्ने चलन थियो, पछि बहुविवाह आयो । प्रचण्ड त कस्तो बन्नुभयो भने एउटै व्यक्तिको दुई वटा श्रीमान । पहिलो श्रीमान केपी शर्मा ओली र दोस्रो श्रीमान हाम्रो शेरबहादुर देउवाजी बन्नुभयो । अहिले उहाँको निर्णय अप्राकृतिक र असान्दर्भिक हो । अनैतिक किसिमको रह्यो । यसले प्रचण्डको ईमेज खराब भयो । यसबारेमा माओवादीका साथीहरु पनि खुशी छैनन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖