• Friday 16th of October 2026

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी शालीन, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा, बुवा…


  • धनकुटा खबर
  • .

फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालीन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्।

निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालीनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन्। प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ।

शनिवार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ।’

चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ।’

अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू आइनसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन्।

प्रारम्भिक अनुसन्धानमा १४ वर्षीया छात्रा होस्टलमा अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन्। त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ। आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’मा देखिन्छ।

उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान हो। सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालीन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्। यो १० वर्षमा शालीन ८ वर्ष मामाघर बसिन्। होस्टेल बस्न थालेको जम्मा दुई वर्ष हुँदै थियो।

शालीन चार वर्षको उमेरदेखि रत्ननगर-१२ स्थित मावलीमा बस्दै आएकी थिइन्। उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन्।

उनका बुवा-आमाले १० वर्षअघि सम्बन्धविच्छेद गरेका थिए। उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन्। उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमती साथ बसिरहेका छन्।

‘उनीहरूले आवश्यक पर्दा बच्चालाई वार्डेनमार्फत् फोन गर्थे भन्ने बुझिन्छ, होस्टलमा मोबाइल बोक्न दिइएको थिएन,’ भण्डारीले भने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖