काठमाडौं। हिमाल आरोहण गर्ने ट्रेकिङ पेशामा संलग्न एक युवतीले सोही व्यवसाय गर्ने अर्को कम्पनीका संचालकमाथि झुटो विवरणका आधारमा अंश मुद्दा दायर गरेको आरोप लागेको छ।
सगरमाथाको आरोहण समेत गरिसकेकी युवन्तिका तामाङ नाम बताइएकी युवतीले हिमालय एड्भेन्चर प्रा.लि.का संचालकसँग अंश दाबी गरेकी हुन्।
२०७९ असोज ५ मा कपनमा रहेको कम्पनीमा आगलागी भएको थियो। आगलागीमा कम्पनीका संचालक मिङ्मा ग्याबु शेर्पाका सहोदर भाइ तेन्जिङ शेर्पासहित ३ जनाको मृत्यु भएको थियो। मिङमा ग्याबु शेर्पा पछिल्लो समय मिङमा डेभिड शेर्पाका नामले प्रसिद्ध पर्वतारोही हुन्।
घटनाको करिब डेढ महिनापछि युवन्तिकाले शेर्पाको पुर्ख्यौली गाउँ ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ६ मा तेन्जिङको मृत्यु दर्ता गराउने क्रममा पत्नीको नाम लेख्ने ठाउँमा आफ्नो नाम लेखाएकी थिइन्।
मृतक तेन्जिङका दाजु जिग्मे चिण्डुक शेर्पासहित अन्य ५ जनाको सनाखतका आधारमा वडा कार्यालयमा तेन्जिङको मृत्यु दर्ता प्रमाणपत्रमा पत्नीको रुपमा युवन्तिकाको नाम लेखिएको थियो। तर, सो सनाखत प्रयोजनको कागजमा आफूहरुलाई झुक्याएर सहीछाप गराइएको साक्षीहरुको दाबी छ।
लेखपढ गर्न असक्षम मृतकका दाजुले आफूलाई यो कागज बिमा प्रयोजनको लागि भएको बताइएको दाबी गरे। सनाखत गर्दा उनले सहीछापको रुपमा औंठाछाप लगाएका छन्। अन्य साक्षीहरुले पनि आफूहरुलाई ललाइफकाइ गरिएको बताउँछन्।
यही मृत्यु दर्ता प्रमाणपत्रका आधारमा युवन्तिकाले आफूलाई मृतक तेन्जिङकी पत्नी दावी गर्दै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी छिन्। यसका साथै उनले अन्य विभिन्न निकायमा समेत मुद्दा दर्ता गरेकी छिन्।
युवन्तिकाले आफूलाई मृतक तेन्जिङको पत्नी दाबी गरे पनि उनले आफूलाई ‘युवन्तिका तामाङ’को रुपमा नै प्रमाणित गर्न सकेकी छैनन्। एउटा मुद्दाको आदेशमा चितवन जिल्ला अदालतले उनी ‘युवन्तिका तामाङ’ नभइ ‘युवन्तिका राई’ भएको उल्लेख गरेको छ। यो मुद्दामा अन्तिम फैसला भने आउन बाँकी छ।
युवन्तिकाले चितवन जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा आफूहरुलाई जन्म दिने मातापिताको रुपमा बताएर आफूहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गरेको तर वास्तवमा युवन्तिका आफूहरुकी छोरी नभएको भन्दै चितवनका छविलाल तामाङ र लक्षी तामाङको उजुरीका आधारमा चलेको मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ‘युवन्तिका राई’को रुपमा अभिलेख गरेको छ।
अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादीले कसूर गरेको मान्न सकिने’ ठहर गर्दै उनलाई डेढ लाख रुपैयाँ धरौटीमा छोडेको छ। राईले झुठ्ठा विवरश पेश गरी वंशजको नागरिकता लिएको भन्दै जाहेरी परेपछि सो आधारमा अघि बढेको मुद्दामा जिल्ला अदालत चितवनले २०७९ फागुन १० गते यस्तो आदेश गरेको थियो।
अदालतले पहिलो पेशीमै ‘प्रतिवादीले कसूर गरेको मान्न सकिने मनासिब आधार रहेको’ ठहर गरेको भए पनि त्यसको एक वर्ष बितिसक्दा पनि अन्तिम फैसला भने आउन सकेको छैन। केही प्रतिवादीहरु फरार रहेको र केही धरौटी बुझाएर तारेखमा रहेको हुँदा यसको अन्तिम फैसलामा ढिलाइ भइरहेको छ।
अन्तिम फैसला हुन बाँकी हुँदा युवन्तिकाले जिल्ला प्रशासन कार्यालय चितवनबाट लिएको नागरिकता खारेज भइसकेको छैन। र, उनले सोही नागरिकताको प्रयोग गरेर विभिन्न निकायमा उजुरी गर्दै हिँडेकी छिन्। काठमाडौं जिल्ला अदालतमा हालेको अंश मुद्दादेखि पर्यटन विभाग, सामाजिक सुरक्षा कोष लगायतका निकायमा गरेका उजुरीमा यही नागरिकता प्रयोग गरेकी छिन्।
उनले यही नागरिकताका आधारमा गाइडको रुपमा सगरमाथा लगायतका हिमालको आरोहण गर्ने गरेकी छिन्। विदेशी पर्वतारोहीको टोलीलाई लिएर जाने यस्ता गाइडहरुका लागि पर्यटन विभागले लाइसेन्स जारी गर्छ। युवन्तिकाले यो लाइसेन्स पनि यही नागरिकताका आधारमा लिएकी छिन्।
पर्वतारोहणमा पनि नेपाली नागरिकलाई विशेष सुविधा दिइन्छ। युवन्तिकाले अदालतबाटै ‘फर्जी ठहर हुन सक्ने मनासिब आधार रहेको’ भनिएको नागरिकताका आधारमा यी सुविधा पनि लिइरहेकी छिन्।
