• Sunday 18th of October 2026

प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्।

उनीहरुबीच राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र फागुन ३० गते संसदमा प्रधानमन्त्री लिन लागेको विश्वासको मतको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्लाई विश्वासको मत लिनका लागि दिएको सूचना आइतबार संसद्‌ सचिवालयमा पत्र आइपुगेको छ।

सभामुखका प्रेस सल्लाहकार अधिकारीका अनुसार फागुन २९ गते कार्यव्यवस्था समितिको बैठकमा छलफलपश्चात कार्यसूचीमा विश्वासको मत लिने समय तय हुनेछ। अधिकारीले भने,‘सभामुख ज्यूले २९ गते कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको छ। कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सम्भवतः प्रधानमन्त्रीले मागेकै दिन अर्थात् फागुन ३० गते बिहान ११ बजेलाई तोक्नुहुनेछ।’

प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २६ पुसमा २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए।

गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुन: एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। उनले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्। एमाले, माओवादी लगायत सत्ता गठबन्धनमा आवद्ध दलले ह्वीप तयारी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖