• Sunday 18th of October 2026

प्रेसर बढेर रञ्जिता अस्पताल भर्ना भएपछि …


  • धनकुटा खबर
  • .

कञ्चनपुर : नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थित नहुने भएपछि नाउपाको संस्थापक केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको एक नेताले बताए। सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा नाउपाको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको थियो। अध्यक्ष श्रेष्ठ बिरामी भएर टीकापुर आउन नसकेपछि बैठक स्थगित भएको हो। नाउपाका एक केन्द्रीय सदस्यका अनुसार स्वास्थ्य अवस्था गम्भीर नभए पनि अध्यक्ष श्रेष्ठलाई सुगर, प्रेसर बढेपछि अस्पताल भर्ना गरिएको छ।

अध्यक्षमा रेशमलाल चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि ब्यूँतिएको नाउपाको संस्थापक केन्द्रीय समितकोे बैठक बस्ने तयारी थियो। स्थगित बैठक अब कहिले बस्छ भन्ने अनिश्चित बनेको छ।
अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा रेशमको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ। रेशम र रञ्जिता पतिपत्नीसमेत हुन्।

नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर रेशमको आड पाएका सुदूरपश्चिमका सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन्।
समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरुलाई फिर्ता नहुन अर्को निर्देशन जारी गरेपछि नाउपा फुटको संघारमा पुगेको छ।

पार्टीभित्रको विवाद, सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्ने तयारी थियो।

नाउपामा संस्थापक केन्द्रीय कार्यसमित २१ सदस्यीय छ। टीकापुरमै भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका रेशमलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै श्रेष्ठलाई अध्यक्षमा पुनःस्थापित गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖