रुसी र युक्रेनी सेनामा भर्ना हुन गएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् भने उनीहरूका परिवारजनले खोजीका लागि आग्रह गरेका छन्।
व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन्। उनीहरू सबै भ्रमण भिसामा रुस र युक्रेन गएका थिए।
उनीहरू सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवाका परिवारजनले निवेदन दिएको बताइन्।
“व्यास, देवघाट, भानु, शुक्लागण्डकीका सात जना रुसी सेनामा र म्यादेका एक जना युक्रेनी सेनामा भर्ना हुन जाँदा सम्पर्कविहीन भएको भन्दै खोजी दिन परिवारजनले निवेदन दिनुभएको छ,” रानाले भनिन्। उनीहरू दुई-तीन महीनादेखि सम्पर्कविहीन भएको परिवारजनले दिएको निवेदनमा उल्लेख छ।
सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजात सहितका सम्पूर्ण कागजात पठाइसकिएको उनले बताइन्। रुसमा सम्पर्कविहीन भएका व्यक्तिको खोजीका निम्ति पहल भइरहेको उनले सुनाइन्। भ्रमण भिसामा गएका व्यक्ति परिवारसँग नै सम्पर्कविहीन भएपछि खोजीका निम्ति निवेदन दिएका हुन्।
