• Friday 16th of October 2026

घरभित्र पसेको भन्दै कुटपिट गरी युवकको हत्या


  • धनकुटा खबर
  • .

घरभित्र पसेको भन्दै धनगढीमा एक युवकको कुटपिट गरि हत्या गरिएको छ।

सोमबार बिहान साढे ३ बजेतिर धनगढीका महेश राना छिमेकी मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका थिए। सोही बेला उनी माथि मीनबहादुरका परिवार र छिमेकी मिलेर आक्रमण गरे।

कैलालीका प्रहरी उपरीक्षक पदम सिङ बिष्टका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका उनी घाइते अवस्थामै घर फर्किएका थिए।

३५ वर्षीय महेशका आफन्तले उनलाई गम्भीर अवस्थामा देखेपछि ६ बजेतिर सेती प्रादेशिक अस्पतालमा पुर्‍याए। साढे ६ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

उनका अनुसार प्रहरीले साढे ६ बजेतिर घटनाबारे जानकारी पाएको थियो। रातिको बेला महेश छिमेकीको घर किन पसे भन्नेबारे हालसम्म केही कारण नखुलेको उनले सुनाए।

महेशको हत्या आरोपमा चौधरी दम्पती सहितका पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा मीनबहादुरकी श्रीमती २९ वर्षीय पुनम चौधरी, उनकी छोरी र अन्य दुई जना छिमेकी रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -दिलबहादुर छत्याल/नागरिक न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖