• Sunday 18th of October 2026

पाथीभरामा केबलकार नबनाउन रवि लामिछानेको ध्यानाकर्षण


  • धनकुटा खबर
  • .

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले देशको प्रहरी संयन्त्र कुनै एक जना व्यापारी वा व्यक्तिको पक्षमा परिचालित नहुने बताएका छन् ।

ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार परियोजनाको विरोध हुन थालेपछि सरकारले पाथीभराको फेदीमा सशस्त्र प्रहरीको क्याम्प राख्न लागेको छ । केबलकार बनाउने तयारीमा लागेका व्यवसायी चन्द्र ढकालको स्वार्थ पूरा गर्नका लागि त्यहाँ सशस्त्र क्याम्प राख्न लागिएको भन्दै स्थानीयबासी एवं पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।

यसै सन्दर्भमा मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पहिचान पक्षधरहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई भेटेर पाथीभरामा केबलकार नबनाउन र सशस्त्र क्याम्प नराख्न भनेका छन् ।

याे पनि-
कङ्क्रिटले भत्काउँदै मुन्धुमी आस्था
पहिचान पक्षधरहरुले चन्द्र ढकालका लागि सशस्त्र प्रहरी परिचालन हुन लागेको र त्यहाँ क्याम्प राखिएमा द्वन्द्व हुनसक्ने गृहमन्त्री लामिछानेलाई चेतावनी दिएका छन् ।

जवाफमा गृहमन्त्री लामिछानेले आफू मातहतको नेपाल प्रहरी र सशस्त्र प्रहरी कुनै व्यक्तिको पक्षमा परिचालित नहुने र आम जनताको पक्षमा मात्र परिचालित हुने बताएको भेटमा सहभागी नेता खगेन्द्र माखिमले खबरहबलाई बताए ।

माखिमले भने, ‘हामीले चन्द्र ढकालको पक्षमा सशस्त्र प्रहरी परिचालन भएमा द्वन्द्व हुन्छ भन्यौं, गृहमन्त्रीज्यूले कुनै व्यक्तिको पक्षमा प्रहरी परिचालन नहुने बताउनुभयो ।’गृहमन्त्रीलाई भेट्न पुगेको टोलीमा पहिचान पक्षधर नेताहरुको सहभागिता थियो ।

कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधर नेताहरुले लामिछानेलाई आफ्नो ३ बुँदे माग प्रस्तुत गरेका छन् । उनीहरुले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको योजना अघि नबढाउन माग गरेका छन् ।

पाथीभराको फेदीमा सरकारले सशस्त्र प्रहरीको क्याम्प राख्न लागेकोमा समेत पहिचानवादीले विरोध जनाएका छन् ।गृहमन्त्री लामिछानेसँगको भेटमा आफूहरुले पाथीभराको नाम फेरेर मुक्कुमलुङ राखिनुपर्ने, लिम्बु संस्कृति र मुन्धुममाथिको अतिक्रमण रोकिनुपर्ने भेटमा बताएका थिए ।

गृहमन्त्री लामिछानेले आफूले भर्खरै ताप्लेजुङको भ्रमण गरेको फर्केको र त्यहाँको अवस्थाबारे जानकार रहेको भेटमा बताएका थिए । उनले सरकार भनेको निरन्तरतामा चल्ने बताउँदै त्यहाँ यसअघि सरकारले गरेको निर्णय के कस्तो अवस्थामा छ भन्नेबारे बुझ्ने आवश्वासन दिएको माखिमले खबरहबलाई बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖