• Friday 16th of October 2026

‘परिवारले बिहे गरिन् भन्ने सोच्यो, जंगलमा एक महिनादेखि अलपत्र थियो शव’


  • धनकुटा खबर
  • .

काठमाडौं । गएको बिहीबार गोकर्णेश्वर नगरपालिका–३, तारेभीर घर भएका एक व्यक्ति घाँस काट्न जंगलतिर छिरेका थिए । साँझ ५ः४० बजेतिर फर्किँदा उनले शिवपुरी राष्ट्रिय निकुञ्जको यो जंगलमा मान्छेको हात गाडिएको जस्तो देखे ।

‘मान्छेको जस्तो लागेर नजिक गएर हेरेँ, दुई वटा हात मात्र देखिएको थियो’, उनले भनेका छन्, ‘गाउँबाट एउटा बच्ची हराएकी थिइन्, त्यसपछि परिवारलाई खबर गरेको थिएँ ।’

लगत्तै प्रहरीलाई समेत शव भेटिएको सूचना आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री बताउँछन् ।

जंगलनजिकै घर भएकी लुच्ची तामाङकी छोरी १८ वर्षीया सुस्मा लामा २२ माघदेखि हराएकी थिइन् । गोकर्णेश्वर–३ का वडा सदस्य सचिन लामाका अनुसार, कलेज जान्छु भनेर हिँडेकी उनी घर नफर्किएपछि परिवारले २५ माघमा प्रहरी वृत्त, बौद्धमा खोजतलासका लागि निवेदन दिएको थियो ।

‘अरुबेला पनि कहिलेकाहीँ साथी कहाँ जाने र भोलिपल्ट फर्किएर आउने गर्दिरहिछिन्’, लामाले भने, ‘त्यही भएर प्रहरी कहाँ खबर गर्न ढिला भयो ।’

आमाले खेतीकिसानी गरेर उनलाई बूढानीलकण्ठको सामुदायिक विद्यालयमा कक्षा १२ पढाइरहेकी थिइन् । सुस्मा एक्कासी हराएपछि प्रहरीको सहयोग लिएर स्थानीयबासिन्दाले पनि खोजी गरिरहे ।

त्यहीबीच उनले विवाह गरेको विषय साथीहरुमार्फत सार्वजनिक भयो । यसपछि खोजतलास पनि सुस्त भयो । तर, एक महिनासम्म पनि सम्पर्कमा नआएपछि परिवारले थप शंका गरिरहेको थियो । त्यहीबीच जंगलमा एउटा शव भेटिएको थियो ।

जंगलमा गएका व्यक्तिले देखेर खबर गरेपछि आमासहित गाउँले त्यहाँ गएका थिए । त्यसक्रममा शव सुस्माकै भएको पुष्टि भएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीको अनुसार, उनको शव हात खुट्टा डोरीले बाँधेको अवस्थामा भेटिएको थियो ।

शव भेटिएपछि गम्भीरतालाई हेरेर आफूहरुले अनुसन्धान थालेको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी सोमेन्द्रसिंह राठौर बताउँछन् ।

शव बरामद भएलगत्तै फरेन्सिक डाक्टरसहतिको टोली गएर जाँच गरेको थियो । त्यसपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖