काठमाडौं, ३० फागुन । मोरङको विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटवाल रेग्मी पक्राउ पर्नुभएको छ ।
प्रहरीले उहाँलाई आज पक्राउ गरेको हो । उहाँले होस्टलमा बसेर नर्सिङ पढ्दै आउनुभएकी एकजना छात्रालाई अग्रिम होस्टल भाडा माग्दै लछारपछार पारेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
रेग्मी आफू काठमाडौं जानुपर्ने भन्दै मंगलबार साँझ अग्रिम भाडा माग्दै होस्टल पुग्नुभएको थियो । त्यही क्रममा उहाँले विद्यार्थीले अग्रिम भाडा नदिएको भन्दै लछारपछार पार्दै किताब कापीसमेत फाल्नुभएको थियो ।
कुटपिटमा पर्नुभएकी छात्राले केही दिनभित्रै होस्टल छोड्ने तयारी गर्नुभएको थियो । तर सञ्चालक रेग्मीले होस्टेलमा बसिरहनुभएका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उहाँले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात गर्नुभएको थियो ।
पीडित छात्राको उजुरीपछि उहाँलाई आज प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको छ ।
