• Monday 19th of October 2026

मनि ट्रान्सफर सञ्चालकलाई गोली हान्ने तीन जना भारतीय सार्वजनिक


  • धनकुटा खबर
  • .

वीरगञ्ज – रौतहटको परोहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहलाई शुक्रबार दिउँसो गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ।

शनिबार जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार सम्मेलन गरी प्रहरीले तीनैजनालाई घटनामा प्रयोग भएको हातहतियारसहित सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरु भारत बिहारको मोतिहारीका १९ वर्षीय मुनिफकुमार यादव, सोही स्थानका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभान सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेका तीनै जनाले उपनाम पनि प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।

तीनै जनामध्ये यादवको उपनाम मनिष, पासवानको राधा र सिंहको उपनाम चुनु कुमार सिंह रहेको रौतहटकी प्रहरी प्रवक्त डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

उनीहरुको साथबाट घटनामा प्रयोग गरिएको बीआर ०६ सिएल ९७९६ नम्बरको अपाचे मोटरसाइकल एक थान, एक राउण्ड खोका, कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने आठ एमएमको एक थान गोली बरामद भएको छ। यस्तै, अर्ध स्वचालित पेस्तोल र सोको एक थान म्यागिजन र पाँच राउण्ड गोलीसहित घटनास्थलबाट फायर भएको बुलेट एक थान बरामद गरिएको गिरीले बताइन्।

शुक्रबार दिउँसो १ बजे मनि ट्रान्सफरमा बसेर काम गरिरहेको बेला मोटरसाइकलमा आएका तीनै जनाले लुटपाट गर्नको लागि साहलाई गोली हानेका थिए। गोली लागेर घाइते भएका साहलाई बाराको परवानीपुरमा रहेको एलएस न्युरो अस्पतालमा उपचार गरिएको तथा उनको आँखामा पनि समस्या देखिएकोले थप उपचारको लागि तिलगंगा अस्पताल काठमाडौँ रेफर गरिएको रौतहटका एसपी महेन्द्र कुमार विष्टले जानकारी दिए।

पक्राउ परेका तीनैजनालाई ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको विष्टले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖