• Friday 16th of October 2026

शालीनको मृत्युबारे साथीहरूको यस्तो बयान


  • धनकुटा खबर
  • .

चितवन । एकता शिशु निकेतनकी छात्रा शालीन पोखरेलका साथीहरूले उनले मर्नुभन्दा अघिल्लो दिन क्षमा पाउँ आमा बोलको गीत गाएको बताएका छन् ।

शालीनको मृत्युपछि जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धान अधिकृतसँग उनीहरूले शालीनले फागुन ११ गतेको कार्यक्रममा क्षमा पाउँ आमा बोलको गीत गाएको बताएका हुन् ।

प्रहरीले अनुसन्धानको लागि उक्त विद्यालयमा अध्ययन गर्ने ६ जना शालीनका साथीहरूको बयान गरेको छ । आइतबार जिल्ला अदालत चितवनमा पेस गरिएको अभियोग पत्रमा उल्लेख भएअनुसार दुई जना उनीसँगै होस्टलमा बस्ने, एक जना शालीनलाई शनिवार बिहान खाना खान बोलाउन जाने र अर्का दुई जना शालीनसँगै पढ्ने साथीहरूको बयान गरिएको हो ।

बयानका क्रममा शालीनसँगै होस्टलमा बस्ने दुई साथीहरूले उस्तै घटना विवरण बताएका छन् । उनलाई बोलाउन जाने र अर्का उनीसँगै सेवा दल गणको तालिममा जानेहरूको भने फरक फरक बयान छ ।

छात्रावासमा सँगै बस्नेहरूका अनुसार शुक्रवार स्कुलमा ईएनएस गट ट्यालेन्ट कार्यक्रम थियो । उक्त कार्यक्रममा शालीन पनि सहभागी थिइन् । त्यो दिनभर कार्यक्रममा बसेर फर्किएका उनीहरूले बेलुका सुत्नुअघि करेन्ट चाउचाउ खाने सल्लाह गरेको उनीहरूले बयानमा बताएका छन् ।

तर, जुन साथीले करेन्ट चाउचाउ खाने भनेकी थिइन् उनको बाक्सामा चाउचाउ नभेटिएपछि बिस्कुट खाएर उनीहरू सुतेका थिए । भोलिपल्ट आइतबार चाउचाउ आफ्नो भाइले नलगेको बताएपछि कसले लगेको छ भनी खोज्दा शालीनको बाक्सामा भेटिएको उनीहरू दुवैको बयानमा छ ।

उनीहरूले भनेका छन्, दुई वटा चाउचाउ भेटिएपछि शालीन पोखरेललाई यसअघि तिमीले पैसा पनि लैजाने गरेको छौ भनेर सोध्दा मैले खानेकुरा मात्र लगेको हुँ, पैसा लगेको छैन भनेकी थिइन् । त्यसपछि तिमी ठूली भइसक्यौ यस्तो बानी गर्नु हुँदैन भनेको हो ।

त्यसपछि शालीनले आफूले लगाएको खैरो रंगको बक्स पाइन्टबाट अर्की साथीको बाक्साको चाभी सँगैकी साथीलाई दिएपछि उनले चापी जाँच गर्दा चाउचाउ हराएकी साथीकै बाक्साको भएको थाहा भएपछि उनको चापीको झुप्पामा राखिदिएको बयानमा बताएका छन् ।

शालीनले फागुन १२ गते बिहान ९ः३० मा खाना खाने घण्टी बजेपछि चाउचाउवाला साथीलाई बोलाएर दिदी मैले तपाईँको पैसा लगेको छैन भनेर फेरि पनि भनेको र उनले भैगो त नि । यो कुरा कति पटक गरेकी अब चाहिँ नगर्नु भनेको बताएका छन् ।

भने उनलाई खाना खान बोलाउने साथीले पनि सरले बोलाउन पठाउँदा मलाई आज खाना खान मन छैन भनेर खाना खान नमानेपछि खेल्न ग्राउन्डतिर गएको बताएका छन् ।

तर, शालीनसँगै सेवा दल गणको तालिममा गएका दुई साथीहरूले भने शालीनले शुक्रवार विद्यालयको कार्यक्रममा पनि क्षमा पाउँ भन्ने गीत गाएको र त्यसअघि २१ दिन सेवा दल गणको तालिम लिन हात्तीखोर जाँदा पनि त्यही गीत गाएर सबैलाई रुवाएको बताएका छन् ।

तालिममा सँगै सहभागी भएकी एक साथीले बयानमा भनेकी छिन्, उक्त तालिममा सहभागी भई हामीले विभिन्न विधाहरूमा कविता तथा गीतहरू गउने क्रममा शालीन पोखरेलले पनि क्षमा पाउँ आमा शीर्षकको गीत गाएकी थिइन् । उनको त्यो गीत सुनिसकेपछि म लगायतको धेरै जसो उपस्थित विद्यार्थीहरू रोएका थियौँ । निजले मसँग भेट भई कुराकानी हुँदा आमा विदेशमा हुनुहुन्छ, मलाई आमाको धेरै याद आउँछ भन्ने गर्थिन । हामी तालिम पश्चात् विद्यालयमा गई आफ्नो पढाइ तिर लाग्यौँ ।

यसै क्रममा मिति २०८०/११/११ गते शुक्रवारका दिन विद्यालयमा इएसएन गट ट्यालेन्ट प्रोग्राममा शालीन पोखरेल आफैले एउटा गीत गाउँछु भनी क्षमा पाउँ आमा शीर्षकको गीत गाएकी थिइन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖