• Saturday 17th of October 2026

बबिता भन्छिन्– ‘नर्सले भ्रष्टाचार गरेको उदाहरण छैन, यो निस्वार्थ भावनाले गरिने पेशा हो’


  • धनकुटा खबर
  • .

काठमाडौं– बबिता विष्टले आफ्नो माध्यमिक तह पढ्दासम्म नर्सिङ पेशाबारे थाहा पाएकी थिइनन् । उनले केही सुनेको भने थिइन् । सानैदेखि अरुलाई सहयोग तथा सेवा गर्ने बानी परेकी उनलाई परिवारले स्टाफ नर्स पढ्न सुझाव दिएका थिए ।

दार्चुलाको शैल्यशिखरमा जन्मिएकी विष्टले कञ्चनपुरको सेती–महाकाली नर्सिङ क्याम्पसबाट स्टाफ नर्सको कोर्ष पास गरिन् । उनी त्यहाँबाट २०६६ सालमा पासआउट भएकी हुन् । पढाईमा अब्बल रहेकी उनले सोही वर्ष पहिलोपल्टमै लोकसेवा आयोगको परीक्षा पास गरिन् । त्यसै वर्षबाट उनले महाकाली प्रादेशिक अस्पतालबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

त्यसपछि दार्चुलाको गोकुलेश्वर अस्पतालका काम गरेकी बबिताले पढाईलाई भने निरन्तरता दिँदै गइन् । उनले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)बाट २०७० सालमा ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) पास गरेकी थिइन् ।

त्यसपछि पुनः केही वर्ष महाकाली अस्पतालमा काम गरेकी उनी हाल दार्चुला जिल्ला अस्पतालमा अस्पताल नर्सिङ निरीक्षकको रुपमा कार्यरत छिन् ।

उनले हालसम्म दुर्गम क्षेत्रमा गरेको सेवा, बिरामीहरुसँग गर्ने व्यवहार तथा कोभिड महामारीमा जोखिमका बीच गरेको मेहनतकै कारण उनलाई यो वर्ष उत्कृष्ट स्वास्थ्यकर्मीको पुरुस्कार प्रदान गरिएको छ । ‘मैले कहिलै बिर्सन सक्दिन त्यो अवस्था, तराईको गर्मीमा १२ घण्टासम्म पिपिई सेट लगाएर बिरामीलाई हेर्नुपथ्र्यो’ उनी भन्छिन् ‘निस्वार्थ रुपले सेवा गर्दा मुल्यांकन हुँदो रहेछ । नर्सिङ निस्वार्थ भावनाले गरिने पेशा हो । मैलै आफ्नो १३ वर्षको करियरमा त्यहि भावनालाई अंगाल्दै आइरहेको छुँ ।’ उनलाई अहिले भने आफूले खोजेजस्तै पेशा रोजेको जस्तो महसुस भइरहेको छ ।

दुर्गम तथा लामो समयदेखि स्वास्थ्य सेवा क्षेत्रमा योगदान गरिरहेको भन्दै उनको नाम स्वास्थ्य निर्देशनालयले सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा स्वास्थ्य सेवा दिवस २०८० को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार २०८० प्रदान गरेको हो । उनलाई एक लाख रुपैयाँ राशीको पुरस्कारसमेत प्रदान गरिएको थियो।

उमेरले ३२ वर्ष पुगेकी उनी हाल बिहे गरेर बेदकोट नगरपालिका–८ भाँसी कञ्चनपुर बस्दै आएकी छिन् । तर, बुझ्ने र सहयोगी परिवारका कारण उनको घर दार्चुला अस्पताल बनेको छ ।

बिरामीको अनुपातमा नर्सको संख्या कम

बिरामीको अनुपात अनुसार नेपालमा नर्सको दबन्दी कम हुँदा बबिता चिन्तित छिन् । ‘दार्चुला अस्पतालमा ५ जना नर्सको मात्रै दरबन्दी छ । जसले सबै बिरामीलाई सेवा दिन कठिन हुन्छ’ उनले भनिन्, ‘यही एउटा प्रमुख कारण हो, धेरै बिरामीलाई एकैपटक हेर्नुपर्ने तनावका कारण केही नर्सबाट बिरामीमाथि रुखो व्यवहार हुन जान्छ ।’

उनका अनुसार सबै व्यक्तिको एउटै व्यवहार नहुने हुँदा बिस्तारै बोल्दा पनि चर्को लाग्ने बोलीका कारण केही बिरामीलाई नर्सको व्यवहार मन नपर्न सक्छ । तर, जानीजानी कुनै नर्सले त्यस्तो व्यवहार नदेखाउने उनी दाबी गर्छिन् ।

यस्तै नेपालमा विभिन्न नर्सिङ कलेजहरु बन्द हुँदा नर्सहरुको उत्पादन कम भइरहेको र भएका नर्स पनि बिदेश पलायन हुँदा अब समस्या आउने उनको चिन्ता छ । ‘अहिले यहाँका कलेज बन्द छन् । त्यसकै मौका छोपेर भारतीय सीमा क्षेत्रमा धमाधम नर्सिङ कलेज खुलेका छन्,’उनले भनिन्, ‘त्यहाँ उत्पादन हुने नर्सको गुणस्तर हामीले मापन गर्न सक्दैनौ । सोही कारण प्रर्याप्त सिप नभएका तथा न्यून गुणस्तरीय कोर्ष गरेका नर्सहरु भित्रिन सक्ने अवस्था छ ।’

यस्तै निजी अस्पतालले गर्ने श्रम शोषणका कारण नेपाली नर्सहरु बिदेशिन बाध्य भएको उनले बताएकी छिन् । ‘श्रमको मुल्य र मुल्यांकन भएन भने कोही पनि टिक्न सक्दैन । निस्वार्थ सेवा भावना हुनेलाई यो पेशा एकदमै राम्रो छ । किनभने कुनै नर्सले भ्रष्टाचार गरेको उदाहरण छैन ।’आशिष मल्ल/कागजपत्र

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖