• Saturday 17th of October 2026

धरानकी सुमना हत्या प्रकरणका अभियुक्त सार्बजनिक ! २ बर्षदेखि फेसबुक मार्फत प्रेम समबन्ध,धोका पछि हत्या


  • धनकुटा खबर
  • .

विराटनगर । तीन दिन अगाडि धरान १८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबिचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएका श्रेष्ठको प्रेमीसमेत रहेका बाबुराम भुजेललाई सार्वजनिक गरेको हो ।

गत चैत ७ गते दिउँसो २ः ५९ बजे श्रेष्ठको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनापछि अनुसन्धान गर्दा मृतक सुमना श्रेष्ठको हत्यामा धरान १६ बस्ने १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो ।

प्रहरीका अनुसार उनीहरूबिच २ वर्षदेखि फेसबुक मार्फत प्रेम सम्बन्ध थियो । तर, गत पुसमा भने सुमना श्रेष्ठले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि भने सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग उनी नजिकिएकी थिइन् । सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबिच विवादको श्रृङ्खला सुरु भएको थियो । चैत २ गतेदेखि भुजेल काम गर्न धनकुटाको मुलघाटमा गएका थिए । त्यसपछि प्रेम सम्बन्धमा झनै खटपट बढेको प्रहरी दाबी छ ।

प्रेममा खटपट पछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए । साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवैजना पुगेको प्रहरीको दाबी छ । ‘घटनास्थलमा निजहरूबिच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि निज सविन भन्ने बाबुराम भुजेलले, योजना मुताबिक नै साथमा लिई गएको खुकुरी निकाली निज सुमना श्रेष्ठको घाँटी रेटी मारी खोल्सामा फाली सोही रात भागेको,’ प्रहरीले दाबी गरेको छ ।

घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको हो । भुजेलले सुमनाले प्रयोग गर्ने मोबाइल भने फुटाएर सिम खोलामा बगाएको र मोबाइल उनी आफैँले राखेका थिए । प्रहरीले उनको साथबाट फुटाएको मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका भुजेललाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी सात दिनेको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए ।-रातोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖