• Tuesday 20th of October 2026

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङकी सेन्जलको निधन


  • धनकुटा खबर
  • .

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ। उनको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बालिकाको उपचारमा सरोकार राख्दै आएका राजु सुवेदीले जानकारी दिए ।

‘कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आज (आइतबार) निधन भएको छ,’ सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन सकेन ।’

गएको मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो । सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ ।

मंगलबार राति कान्तिले बालिकालाई फिर्ता पठाउँदा उनका अभिभावकले बालिकाको अवस्था गम्भीर भइसकेको भन्दै आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न हारगुहार गरेका थिए। तर, अभिभावकको हारगुहारलाई बेवास्ता गर्दै त्यहाँका चिकित्सकले बालिकालाई बाहिर लैजान भन्दै भर्ना नगरी फिर्ता पठाएका थिए।

सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाइ छ ।

‘सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख ऋण समेत बोक्नुपरेको छ । जुन पहॅुचवाला हुनेखानेका लागि केही नहोला । तर, बागलुङको विकट निसिखोलाका न्यून आर्थिक अवस्थाको परिवारका लागि पीडामाथिको यो ऋण अर्को भारी हो,’ उनले लेखेका छन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖