• Tuesday 20th of October 2026

त्रिशुली दुर्घटना : ३९ वर्षीय छोराको पशुपतिमा अन्तेष्टि गरेर फर्किएकी थिइन् ७० वर्षीया जुनमाया


  • धनकुटा खबर
  • .

काठमाडौं : शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ। दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन्।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ।

मृत्यु हुनेमा ७० वर्षीया जुनमाया रोका, उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया रोका(उपरकोटी), हरिमायाको ९ वर्षीय छोरा आगमन उपरकोटी, जुनमायाकी कान्छी छोरी २८ वर्षीया अन्जना रोका र माइला ज्वाईं ट्याक्सी चालक गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल रहेका छन्। जुनमायाका नाती विवश रोका भने बेपत्ता छन्।

गोरखा नगरपालिका-७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन्। उनीहरू जुनमाया रोकाका छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राती पशुपतिमा अन्त्येष्टि गरेर शनिबार बिहान घर फर्कने क्रममा दुर्घटनामा परेका हुन्।

‘जुनमायाको छोरा शंकरजीको हिजो काठमाडौंमै मृत्यु भएकाले उहाँहरू (मृतक शंकरका आमा, छोरा, दिदी बहिनी, ज्वाईं, भान्जा) सबै पशुपतिमा अन्त्यष्टि सकाएर आज घर फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएछ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘शंकरजीलाई क्यान्सर थियो भन्ने सुनेको छु, रोका परिवारमा ठूलो आपत आएको छ।’

मृतक रोका परिवार र आफन्त शंकरको अन्तिम संस्कार सकेर माइक्रो र ट्याक्सीमा शनिबार घर फर्किँदै थिए। शंकरको श्रीमती भने अर्कै गाडीमा बसेकाले दुर्घटनाबाट जोगिएको श्रेष्ठले जानकारी दिए।

दुर्घटना भएको थाहा पाउनासाथ आफू दुर्घटना स्थालमा पुगेको बताएका वडाध्यक्ष श्रेष्ठले मृतक परिवार रोकाया नभएर रोका भएको पुष्टि गरेका छन्। सञ्चारमाध्यममा मृतकको रोका परिवारको रोकाया भनेर सूचना सम्प्रेषण भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖