• Wednesday 21st of October 2026

नियुक्त भएको २४ घण्टा नपुग्दै सुदूरका मुख्यमन्त्री सोडारी अल्पमतमा


  • धनकुटा खबर
  • .

काठमाडौं,७ वैशाख । लामो रस्साकस्सी र विवादलाई छिचोलेर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी २४ घण्टा नपुग्दै अल्पमतमा परेका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संस्थापन पक्षको समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएका सोडारीले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । तर, वाचानुसार आफूलाई मन्त्री नियुक्त नगरिएको भन्दै नाउपाकी सांसद टीका थापाले आफ्नो समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका हुन् ।

मुख्यमन्त्रीले शपथ लिनासाथ आफूलाई पनि मन्त्री नियुक्त गर्ने भनेर शपथ लिन बोलाएको तर मन्त्री नियुक्त नगरेर आफ्नो मानमर्दन भएको भन्दै थापाले आपत्ति जनाएकी छन् ।

‘मलाई मन्त्रीको सपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा सपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निरास रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेनँ, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु,’ टीका थापालाई उद्धृत गर्दै उनका श्रीमानसमेत रहेका नाउपाका नेता रतन थापाले भनेका छन् ।

नाउपाबाट कैलाश चौधरी भने भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए । तर थापाले शपथ लिन नमानेपछि कुरा बिग्रिएको हो ।

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरी २७ जनाको बहमुत पाउने भन्दै सरकारमा गएका थिए । नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य भए पनि ५ जना रेशमको पक्षमा छन्। रेशम चौधरी सोडारीको नेतृत्वलाई समर्थन नगर्ने पक्षमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖