• Sunday 4th of October 2026

कस्ता व्यक्तिलाई हृदयघातको खतरा हुन्छ?


  • धनकुटा खबर
  • .

डा.राजिव श्रेष्ठ,मुटु रोग विशेषज्ञ । कतिपय बिरामीलाई हृदयघात भएको थाहा हुँदैन। हृदयघात भएपछि नाइटोभन्दा माथिको भाग दुख्ने, घाँटीतिर दुख्ने, शरीरको बाँया भागमा दुख्ने, हाततिर दुख्ने हुन्छ। कसैले यो दुखाइलाई ग्याष्ट्रिकको रूपमा लिने गर्छन्। मान्छेहरूले हेलचक्र्याइँ गर्दै जाँदा अप्ठ्यारो पर्छ।

हृदयघात भएको बेला छातीको देब्रे-दाहिनेतिर दुख्ने, हाततिर दुख्ने, घाँटीतिर दुख्ने, दुखाइ सरेर पछाडि जाने, नाइटोभन्दा माथि दुख्ने हुन्छ। दुखाइ सँगै पसिना आउने,आँखा अगाडि कालो देखिने हुन्छ। वाकवाकी लाग्ने हुन्छ। तर एउटा मात्रै ठाउँमा दुख्ने, दुखाइ नसर्ने, पसिना नआउने भएको छ भने त्यो हृदयघात होइन। मधुमेह भएका बिरामीलाई भने छाती दुख्छ भन्ने हुँदैन।छातीको कुन भागमा दुखेको हो अनि भारी भएको थाहा पाउन गाह्रो हुन्छ।

कतिपय बिरामीलाई हृदयघातको पहिलादेखि केही संकेत देखिन्छ। बिहान हिँड्दा छाती दुख्ने,आराम गरेपछि कम हुने हुन्छ। दुखाइ बढ्दै गएर आराम गर्दा समेत दुख्ने हुन्छ। तर कतिपयलाई भने केही पूर्वानुमान समेत गर्न सकिँदैन।

हृदयघात धेरै कारणले हुन्छ। वंशाणुगत, बढ्दो उमेर, पुरूष,चुरोट, रक्सी खाने, अत्यधिक कोलस्ट्रोल, मधुमेहको समस्या र धेरै तानव लिनेलाई हृदयघात हुने खतरा हुन्छ।

हृदयघातलाई रोक्ने भन्ने हुँदैन तर यसलाई हुन नदिन केही प्रयास गर्न सकिन्छ। समय समयमा मुटुको परीक्षण गर्नु नै पहिलो उपाय हो। मुटुको वंशाणुगत रूपमा समस्या छ भने अझै होसियार हुनुपर्छ। दिनको ३० देखि ४५ मिनेट हिँड्ने, कुद्ने गर्नुपर्छ। चुरोट रक्सी खानु हुँदैन। तर बढ्दो उमेर, वंशाणुगत कारण लगायतलाई परिवर्तन गर्न सकिँदैन। त्यसको लागि होसियारी अपनाउने मात्र हो।

महिलालाई हृदयघात नहुने भन्ने होइन। तर महिनावारी भइरहेका महिलाको हृदयघात हुने सम्भावना कम हुन्छ। महिनावारीको हर्मोनले हृदयघातलाई धेरै हदसम्म रोक्न सक्ने अध्ययनहरूले देखाएको छ। महिनावारी सुकेपछि भने महिलालाई पनि पुरूषलाई जस्तै खतरा हुन्छ।

(मुटु रोग विशेषज्ञ डा.राजिव श्रेष्ठ नर्भिक अस्पताल थापाथली र स्टार अस्पताल सानेपामा कार्यरत छन्।)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖