• Friday 23rd of October 2026

मुम्बई बन्यो प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली


  • धनकुटा खबर
  • .

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) को ५७औँ खेल सकिएसँगै मुम्बई इन्डियन्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।

बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाई १० विकेटले पराजित गरेसँगै मुम्बई यस सिजन प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको हो।

मुम्बईले यस सिजन टोलीमा ठूलो परिवर्तन गरेको थियो। रोहित शर्मालाई हटाएर हार्दिक पाण्ड्यालाई कप्तानी जिम्मेवारी दिएको थियो। तर, टोलीले शुरूका १२ मध्ये ४ खेलमा मात्र जित हात पारेको छ।

मुम्बईले कोलकाता नाइट राइडर्स र लखनउसँग खेल्न बाँकी छ। शीर्ष २ मा रहन कोलकाताले आगामी खेल जित्नैपर्ने हुन्छ। यता, प्लेअफको दौडमा टिकिरहन लखनउलाई पनि जित्नै पर्ने दबाब छ।

टी–२० विश्वकप २०२४ नजिकिँदै गरेकोले मुम्बईका रोहित शर्मा, हार्दिक पाण्ड्या र जसप्रित बुमराहजस्ता ठूला स्टार खेलाडीले पछिल्ला दुई खेल गुमाउन सक्ने आकलन गरिएको छ। ठूला खेलाडी नखेल्नुले मुम्बईका लागि समस्या निम्त्याउन सक्छ। बुमराह पर्पल क्याप होल्डर छन्।

मुम्बईका लागि बुमराहले १२ खेलमा १८ विकेट लिएका छन्। बुमराहबाहेक मुम्बईका अन्य कुनै पनि बलर सर्वाधिक विकेट लिने सूचीमा शीर्ष १० मा अटाउन सकेका छैनन्।

तिलक वर्माबाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेका छैन। वर्मा १२ खेलमा ३८४ रन बनाउँदै सर्वाधिक रन बनाउने सूचीमा १२औँ स्थानमा छन्। रोहित शर्मा, इशान किशन, हार्दिक पाण्ड्याले ठूलो स्कोर बनाउन सकेका छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖