काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेले आफूलाई दिएको चुनौती स्वीकार गरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकपछि गृहमन्त्री लामिछानेले आफूले सूर्यदर्शन सहकारीबाट निवेदन दिएर ऋण लिएको प्रमाणित गर्न थापालाई चुनौती दिएका थिए । प्रमाण दिन नसके थापाले राजनीति छोड्नुपर्ने उनको सर्त थियो । सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले प्रमाण पेस गर्न नसके आफू राजनीति छाड्न तयार रहेको बताए । आफूहरूसँग भएको तथ्य, प्रमाणले आफूहरूले बोलेको कुरा प्रमाणित गर्ने उनको दाबी छ ।
उनले आफू व्यक्तिले मात्रै नभई सिङ्गो नेपाली काँग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठाएको भन्दै तथ्य प्रमाण नपुगे काँग्रेसलाई क्षति हुने भन्दै प्रमाण पुग्ने दाबी गरे । उनले संसदीय छानबिन समिति बनाएर छानबिन गर्न गृहमन्त्री तयार हुनुपर्ने बताए ।
उनले भने, ‘छानबिन गर्दा राजीनामा पनि चाहिँदैन । गृहमन्त्री भएर प्रमाण लुकाइसक्नु भयो । जे जति कुरा गर्नुपर्ने थियो उहाँले गरिसक्नुभएको छ । तथ्य, प्रमाण तोडमोड गरिसक्नु भयो । त्यसैले हामीलाई राजीनामा पनि चाहिँदैन । तर त्यति तोडमोड गर्दै गर्दापनि यति तथ्य प्रमाणहरू छन् कि, जसको आधारमा हामी जे कुरा भनिरहेका छौँ, त्यसको पुष्टि हुन्छ भन्नेकुराको हामीलाई शतप्रतिशत विश्वास छ । त्यसकारणले गर्दा संसदीय छानबिन समिति सरकारले नबनाईकन पेलपाल गरेर अब हामी नीति, कार्यक्रम ल्याउँछौँ । अब हामी बजेट ल्याउँछौँ भनेर उहाँहरूले सोच्नुभएको छ भने अहिलेसम्म संसदभित्र छ, संसदभित्र मात्रै विषय सीमित रहँदैन ।
हामीले उठाएको विषयलाई सरकारले यसैगरी पेलेर लाने सोच बनायो भने संसदबाट सडकमा आउँछ । थप सरकारले त्यही ढंगको सामना गर्ने कुरामा तयार रहनुपर्छ । म त छोडिदिन्छु भनिसके त । उहाँले कहिले काठमाडौं क्षेत्र नं. ४ मा आउँछु भन्नुहुन्छ, त्यहाँ पनि आउनुस् । बागमतीमा नुहाउँछु भन्नुभयो नुहाउनुस् । छोड्दिनुस् भने छोडिदिन्छु । चुनौती त मैले स्वीकार गरिहाले । त्यहाँ तथ्य, प्रमाण पुष्टि भएन भने सिङ्गो नेपाली काँग्रेस पार्टीलाई त्यसले कति क्षति पु-याउँला ? कत्रो ठुलो लज्जाको विषय होला ? कत्रो ठुलो विश्वसनीयताको प्रश्न आउँला ? सिङ्गो नेपाली काँग्रेस पार्टी नै यो कुरा यसरी भनिरहेको छ भने यो चुनौतीको हाँक स्वीकार नगर्ने भन्ने त कुरै भएन ।’
महामन्त्री थापाले एमालेले भनेजस्तो आफूहरूले समिति बनाउनासाथ गृहमन्त्रीको राजीनामा नमाग्ने स्पष्ट पारे । उनले नेपाली काँग्रेसले २०८४ सालसम्म सरकारतिर फर्केर पनि नहेर्ने भन्दै सरकार ढाल्नका लागि छानबिन समिति गठनको माग नगरेको बताए । –न्युज एजेन्सी नेपाल
