• Sunday 25th of October 2026

पेट्रोलियम पदार्थमा ‘ग्रीन ट्याक्स’ सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थ, कोइला, सुर्ती, चुरोट र मदिराजन्य वस्तुको कर बढाएको छ । सरकारले पेट्रोलियम पदार्थ र कोइलाबाहेकका अन्य वस्तुमा प्रत्येक वर्षको बजेटमार्फत करको दर बढाउँदै आएको छ । सोही नीतिअनुसार अर्थमन्त्री वर्षमान पुनले समेत सुर्ती, चुरोट र मदिराजन्य वस्तुको कर बढाएका हुन् ।

अर्थमन्त्रीले अल्कोहलरहित बियरमा १० रुपैयाँ अन्त:शुल्क बढाएको छ । चालू वर्ष प्रतिलिटर ३५ रुपैयाँ रहेको अन्तशूल्क अबदेखि ४५ रुपैयाँ प्रतिलिटर लाग्ने छ । जौको माल्टबाट बनेको बियरमा प्रतिलिटर ५ रुपैयाँ अन्तशूल्क बढेको छ । यो वर्ष प्रतिलिटर २३५ रुपैयाँ रहेको अन्तशूल्क अबदेखि २४० रुपैयाँ लाग्नेछ ।

यस्तै १७ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा १६ रुपैयाँ प्रतिलटर अन्तशूल्क बढेको छ भने १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको मदिरामा प्रतिलिटर १९ रुपैयाँ अन्तशूल्क बढेको छ । छ्याङमा ५ रुपैयाँ र ४८ प्रतिशतभन्दा बढी अल्कोहल भएको मदिरामा ६० रुपैयाँ प्रतिलिटर अन्तशूल्क बढेको छ ।

यसैगरी सुर्तीजन्य वस्तुको अन्तशूल्क समेत बढेको छ । बजेटमार्फत प्रति खिल्ली सुर्तीको सिगार, चुरोटको अन्तशूल्क १ रुपैयाँ बढेको छ । फिल्टर नभएको सुर्तीको अन्तशूल्क २५ रुपैयाँ, ७० एमएमसम्मको लम्बाई भएको सुर्तीको अन्तशूल्क ५० रुपैयाँ बढेको छ । यसबाहेक सबैजसो सुर्ती तथा सुर्तीजन्य वस्तुको अन्तशूल्क बढाइएको छ ।

यसबाहेक दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटेर १ प्रतिशत कायम भएको छ । निकासीकर्ताले विदेशी मुद्रा प्राप्तिको कागजात तत्काल पेश गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेश गर्ने सर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साबिकको अमेरिकी डलर १० हजारबाट २५ हजार अमेरिकी डलर पुगेको छ ।

वनमारा, पात पतिङ्गार लगायत खेर जाने सामग्रीबाट बन्ने पिलटको निकासीमा लाग्ने महसुल हटेको छ भने अपाङ्गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार विन्दुमा नै छुटको घोषणा छ ।

यसबाहेक औषधी, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल समेत घटेको छ । यता पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थकोरुपमा प्रयोग हुँदै आइरहेको कोइलामा कर थपिएको छ ।

के–केमा लाग्यो हरित कर ?
सरकारले आगामी वर्षदेखि हरित कर लगाउने भएको छ । बिटुमनियुक्त कोइला, र अन्य कोइला तथा कोइलाबाट उत्पादित ब्रिकेट र अन्य ठोस इन्धनमा प्रतिकिलोग्राम ५० पैसा हरित कर लगाएको छ । पत्थरकोइला, लिग्नाइट वा पिटको संगठित वा असंगठित कोक र अर्ध कोकमा समेत प्रतिकिलोग्राम ५० पैसा अन्तशूल्क लागेको छ ।

यसबाहेक मोटर स्पिरिट पेट्राल, हेक्जेन र हाई स्पीड डिजेलमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाइएको छ । यसबाहेक फ्यूल आयल, जुट ब्याचिङ आयल तथा टेक्सटायल आयल, स्पा०न्डल तेल, ट्रान्फर्मस आयल, रबरको प्रशोधनमा प्रयोग हुने तेल, लिक्विड प्याराफिन आयल, ह्वाइट आयल र अन्य प्रकारका पेट्रोलियम पदार्थमा प्रतिलिटर १ प्रतिशतका दरले कर थपिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖