गृहमन्त्री रवि लामिछानेले संसद्मा विपक्षी दलका नेतालाई लगाएका आरोपका विषयमा अब प्रधानमन्त्रीसँग जवाफ मागिने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै थापाले संसद्मा बोलेका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए। “सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन् भनेर गृहमन्त्रीले भन्नुभयो।सदनमा गएर बोलेपछि जवाफ दिनुपर्छ। सूचना बेच्नेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ,” थापाले भने, “अब हामी चुप लागेर बसेर हुँदैन। गृहमन्त्री होइन, प्रधानमन्त्रीसँग हिसाबकिताब माग्नुपर्छ।”
उनले सडकमा बोलेजस्तो सदनमा बोल्न नपाइने बताए। सदनमा बोलेका विषयमा जिम्मेवार हुनुपर्ने थापाको भनाइ थियो। “बाहिर एउटा चटकेको जस्तो बोल्ल पाइएला तर संसद् चटक देखाउने ठाउँ होइन। सम्माननीय प्रधानमन्त्रीले रेकर्डबाट हटाउनुपर्यो। होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ,” थापाले भने।
गृहमन्त्री लामिछानेले आफैलाई लक्षित गरेर भनेको त्यो अभिव्यक्तिले कुनै असर नपर्ने थापाको भनाइ थियो। आफू कयौं पटक सत्तासँग लडेको उनले स्मरण गरे। “सत्तासँग लड्दा घाउ कसरी लाग्छ मलाई राम्ररी थाहा छ। एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ,” थापाले भने, “आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो!”
सहकारीपीडितको रकम फिर्ता हुनुपर्ने थापाको भनाइ थियो। सहकारीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले ठगीमा जोडिएका सबै व्यक्तिसँग बयान लिने उनले बताए। “बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन्,” थापाले भने, “राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्।”
गोरखा मिडियाबाट सहकारीको रकम हिनामिना भएको विषय उठिरहेको उल्लेख गर्दै यस विषयमा दोषीलाई कानूनबमोजिम कारबाहीको दायरमा ल्याउनुपर्ने बताए। सहकारी ठगी प्रकरणमा आरोपितलाई जोगाउन खोज्ने राज्यका निकायले पनि संसदीय छानबिन समितिसमक्ष बयान दिनुपर्ने उनको भनाइ थियो।
