काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराका प्रमुख राजनीतिक सल्लाहकार निर्मल आचार्यले रक्सीको उन्मादमा आफ्नै नेताहरुलाई गाली गरेर पछि माफी मागेका छन्।
भर्खरै मुख्यमन्त्रीको सल्लाहकार नियुक्त भएका आचार्यले सामाजिक सञ्जालमार्फत नै रक्सी सेवन गरेको र त्यसले असैह्य बनाएपछि सञ्जालमा नेताहरु विरुद्ध अशोभनीय टिप्पणी गरेको भन्दै माफी समेत मागेका छन्।
उनले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव जनार्दन शर्माको आलोचना गर्दै रक्सीको उन्मादमा सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालबाटै माफी मागेका हुन्।
उनले रक्सीको उन्मादमा असभ्य र अमर्यादित टिपपणी गरेको सामाजिक सञ्जालमा स्वीकारेका छन्। तथापि नेताहरुलाई गाली गरेर लेखिएको सो फेसबुक स्टाटस भने उनले हटाइसकेका छन्।
माओवादीको केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज समेत रहेका मुख्यमन्त्रीको सल्लाहकार रहेका आचार्य पार्टीका दिवंगत नेता पाष्टबहादुर बोगटीका छोरी ज्वाइँ हुन्।
केही दिन अघि भएको उनको सल्लाहकारको नियुक्तिलाई लिएर माओवादीभित्र तीव्र आलोचना भइरहेको छ। पार्टीको लुम्बिनी प्रदेश सचिव रहेका कृष्ण अधिकारीलाई नियुक्त गर्ने प्रदेश समितिको सर्वसम्मत निर्णय विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो दवाबमा उनलाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गरिएको हो।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको ठाडो दवाबमा लुम्बिीनीका मुख्यमन्त्री महराको सल्लाहकारमा नियुक्त भएका आचार्य आफ्नै ससुराका नाममा स्थापित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका सञ्चालक समेत हुन्।
प्रदेश समितिको सर्वसम्मत निर्णयलाई लत्याएर प्रचण्डको ठाडो निर्देशनमा आचायलार्ई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गरिएको भन्दै अधिकांश लुम्बिीनी प्रदेशका माओवादी नेताहरु असन्तुष्ट बनेका छन्।
आचार्यले आफूलाई मुख्यमन्त्रीको सललाहकार हुनबाट रोक्नका लागि उपाध्यक्ष महरा र उपमहासचिव शर्माले चलखेल गरेको बुझेर सामाजिक सञ्जालमा जथाभाबी टिप्पणी गरेको लुम्बिनी प्रदेशका एक माओवादी नेता बताउँछन्।
ती माओवादी नेताका अनुसार महरा र शर्मासँग सल्लाहकार हुनबाट रोक्न लागेको रिस उनले सामाजिक सञ्जालमा पोखेका हुन् । मुख्यमन्त्री महरा, उपाध्यक्ष महरा र शर्मा पार्टीका इमान्दार नेता अधिकारीलाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने पक्षमा थिए।
अध्यक्ष प्रचण्डसँग आफूलाई सल्लाहकार नियुक्तिका लागि गरिएको आग्रहमा नेताहरु तगारो बनेको थाहा पाएपछि ती नेताविरुद्ध सामाजिक सञ्जालमा आचार्य खनिएका हुन्। आचार्यले महाराविरुद्ध विषवमन गर्नुको पछाडिको कारण भने अर्कै रहेको ती माओवादी नेता बताउँछन्।
ती माओवादी नेताका अनुसार सहजै विजय हुने अवस्थामा महराले सधैं दाङबाट उम्मेदवारी दिएर पराजित हुने समयमा रोल्पा पुगेर दाङमा आफूलाई उठाएको रिस आचार्यले व्यक्त गरेका हुन्। त्यसैको प्रतिक्रियास्वरुप उनले सामाजिक सञ्जालमा महराविरुद्ध अनर्गल लेखेका हुन्।
रोल्पाका महराले विगत २०६४ मा दाङ २ बाट उम्मेदवारी दिएर विजयी भएका थिए। त्यसपछि २०७० को निर्वाचनमा रोल्पा पुगेर क्षेत्र नं १ बाट उम्मेदवारी दिएर निर्वाचित भए भने २०७४ मा वाम गठबन्धन हुँदा महरा फेरि दाङ २ मै फर्किएर निर्वाचित भएका हुन्।
आफूलाई बञ्देज लगाएर पटक पटक दाङबाट उम्मेदवारी दिँदा आफूले अवसर नपाएको गुनासो आचार्यले गर्दै आएका थिए। त्यसैको तुषस्वरुप उनले महराविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरेको ती नेता बताउँछन्।
