• Sunday 25th of October 2026

नयाँ राजदूतका लागि एमालेबाट खतिवडादेखि कार्कीसम्मको चर्चा, को-को छन् लाईनमा ?


  • धनकुटा खबर
  • .

काठमाडौं,२५ जेठ । सरकारले भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मासहित ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा नियुक्त भएका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका ११ जना राजदूत फिर्ता बोलाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा भारतका लागि नेपाली राजदूत डा। शर्मालाई फिर्ता बोलाउने निर्णय गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री दाहाल जाने निर्णय स्वीकृति गराएर मन्त्रिपरिषद्को बैठकले राजदूत फिर्ता बोलाएको छ ।

सरकारले भारतका डा। शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्य, स्पेनकी शर्मिला पराजुली ढकाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियाका डिल्लीराज पौडेल, डेनमार्कका प्राडा रामसुरज यादव, साउदी अरेबियामा नवराज सुवेदी र इजरायलमा कान्ता रिजाल, कतारका नरेश विक्रम ढकाल र पोर्चुगलका शनिल नेपाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

नेपालबाहेक अन्यलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले उनीहरुलाई राजदूत नियुक्त गरेको थियो । भने नेपाल केही महिना अघिमात्रै राजदूत नियुक्त भएका थिए ।

सरकारले कांग्रेससहित प्रतिपक्षी दलको कोटाबाट नियुक्त राजदूतलाई फिर्ता बोलाएसँगै अब नेकपा एमाले र रास्वपाबाट नयाँ राजदूत नियुक्त हुनेछन् ।

एमालेबाट को-को छन् लाईनमा ?

नेपाली कांग्रेस निकट डा शर्मालाई फिर्ता बोलाएर भारतका लागि राजदूतमा नेकपा एमाले निकट डा अर्जुन कार्कीलाई पठाउने प्रवल सम्भावना देखिएको छ । डा। शर्मा र डा। कार्की दुबै जना अमेरिकाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । एमाले अध्यक्ष ओली निकट मानिने कार्की कूटनीतिक क्षेत्रमा दख्खल राख्नेमध्येका एक मानिन्छन् ।

भारतका लागि कार्कीलाई पठाएमा एमालेले अमेरिकाका लागि डा युवराज खतिवडालाई पठाउने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरसमेत रहेका उनी पूर्व अर्थमन्त्री हुन् । अर्थमन्त्रीबाट राजीनामा दिएपछि तत्कालीन ओली सरकारले अमेरिकाको राजदूतमा पठाएको थियो । तर, सर्वोच्चको परमादेशले ओली सरकार ढलेर देउवा सरकार बनेसँगै उनको राजदूत पदपनि गुमेको थियो ।

भारतमा कार्की र अमेरिकामा खतिवडासँगै एमालेले पूर्व परराष्ट्रमन्त्री डा विमला राई पौड्याललाई पनि राजदूतमा पठाउने सम्भावना छ । उनी एमालेको महिला संघकी उपाध्यक्ष तथा निवर्तमान राष्ट्रिय सभा सदस्य हुन् । त्यस्तै तत्कालीन नेकपा सरकारको पालामा अष्ट्रेलियाको राजदूत बनेकी लक्की शेर्पा पनि राजदूतमा दोहोरिने सम्भावना छ । त्यस्तै पूर्व राजदूत निलम्बर आचार्यलगायत पनि एमालेबाट राजदूत बन्ने लाईनमा रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖