• Thursday 22nd of October 2026

आजदेखि उपत्यकामा आउँदैन मेलम्चीको पानी


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ७ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम हुन सक्ने औंल्याएर आजदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिन लागेको छ ।

बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द हुने सम्भावना रहेको समितिले जानकारी दिएको हो।

योसँगै उपत्यकाबासी शुक्रबारदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्। मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्ने गरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए। मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आएको छ। बढी वर्षा भएमा मेलम्ची नदी धमिलो हुँदा आयोजनामा लेदो पस्न सक्ने खतराबाट जोगाउन बन्द गर्नुपर्ने बाध्यता आएको लामिछानेको भनाइ छ।

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। सरकारले जेठ ३१ मा मेलम्ची आयोजना बन्द गर्ने निर्णय गरेको थियो।

दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

गत वर्षको साउन २८ र २९ को बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो। मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ देखि मात्रै उपत्यकामा पानी पठाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖