• Friday 9th of October 2026

आत्मघाती गोल ‘स्टार’ बनेको युरो २०२४


  • धनकुटा खबर
  • .

बर्लिन । यतिबेला जर्मनीमा युरो २०२४ को समूह चरणका खेलहरू जारी रहेको छ । प्रतियोगितामा को सर्वाधिक गोलकर्ता बन्छ भन्ने चर्चा सुरु भइसकेको छ – ह्यारी केन, किलियान एम्बाप्पे, जुड बेलिङह्याम या साउदी अरबमा उत्कृष्ट सिजन बिताएका क्रिस्टियानो रोनाल्डो ?

युरो २०२४ गोलको मामिलामा रोमाञ्चक देखिएको छ । समूह चरणमा हालसम्म खेलिएका खेलहरूमध्ये एक मात्र गोलरहित बराबरीमा टुङ्गिएको छ । लेइपजिगमा खेलिएको फ्रान्स र नेदरल्यान्ड्सबिचको खेलमा कुनै गोल हुन सकेन ।

पछिल्लो तथ्याङ्कअनुसार जर्जिया जर्जेस मिकाउताजे, जर्मनीका जमाल मुसियाला र स्लोभाकियाका इभान स्क्रान्जले २–२ गोल गरेका छन् । तर, गोल गर्ने मामिलामा ‘स्टार’ भने आत्मघाती गोल बनिरहेको छ । शनिबार टर्कीविरुद्धको खेलमा पनि रोनाल्डो र पोर्चुगलले आत्मघाती गोलको फाइदा पाएका थिए ।

युरो २०२४ को समूह चरणका खेलहरू ६ वटा आत्मघाती गोल भइसकेका छन् । अझै थुप्रै खेलहरू बाँकी रहँदा यो सङ्ख्या बढ्न सक्ने आँकलन गरिएको छ ।

हालसम्म आत्मघाती गोल गर्ने सूचीमा क्लाउस ग्जासुला (अल्बानिया), म्याक्सी मिलियान वोबेर (अस्ट्रिया), एन्टोनियो रुडिगर (जर्मनी), रिकार्डो कालाफियोरी (इटाली), रोबिन ह्रानाक (चेक रिपब्लिक) र सामेट अकाइदिन (टर्की) रहेका छन् ।

युरो कपमा सर्वाधिक आत्मघाती गोलको रेकर्ड ११ रहेको छ । यो सन् २०२१ को युरो कपमा बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖