• Friday 23rd of October 2026

आफुलाई डस्ने सर्प बोकेरै चारआली पुगे इलामका बिनोद


  • धनकुटा खबर
  • .

झापा । घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका वडा नं। ३ निवासी १२ वर्षीया मनिषा राजबंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान केही ढिला भएमा कचनकबलकी मनिषाले ज्यानै गुमाउने घटना तराईका जिल्लामा वर्षेनी दोहोरिने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो उपचारस्थल पुर्याउनु पर्ने चिकित्सकहरु बताउँछन् ।

पूर्वी इलामको पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई आइतवार विहान घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातमा डस्यो । गाउँका मानिसहरुले झारफुक गर्ने धामीको सम्पर्कमा उनलाई पुर्याए । सिरु र खरानी दलेर धामीले झारफुक गर्दा बीसको उन्नाइस नभएपछि उनलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगियो । नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायले सञ्चालन गरेको उक्त केन्द्रमा उपचार गराएपछि बल्ल उनको स्वास्थ्यमा सुधार आएको छ । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् भने पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खा याममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् ।

मेचीनगर–१५ बिचार्नीका ५१ वर्षीय जुपुई हेमरम सोही सर्पदंश उपचार केन्द्रमा उपचाररत छिन् । उनको देब्रे औलामा आइतवार विहान पाँच बजेतिर ओछ्यानमै सर्पले डस्यो । सन्थाल समुदायमा सर्पको विष झार्न झारफुक गर्ने परम्परागत प्रचलन छ । आधा घण्टाभन्दा बढी समय तन्त्रमन्त्र प्रयोग गरेर विष झार्दा पनि सुधारको कुनै संकेत नदेखिएपछि उनलाई मोटरसाइकलमा चढाएर चारआलीको सर्पदंश उपचार केन्द्रमै पुर्याइयो । आफुलाई डस्ने सर्प भने देख्न नपाएको उनले बताइन् ।

सर्पले डसेपछि धेरैजसो पीडितहरु डरले सिकिस्त हुने गरेका छन् भने कोहीले जिउँदो सर्प समातेर चिकित्सकलाई प्रमाण देखाउन अस्पताल पुर्याउने गरेका छन् । इलामको माइजोगमाई–१ का १५ वर्षीय विनोद राईले घाँस काट्दा आफुलाई देब्रै हातको औंलामा डस्ने विषालु हरेउ सर्पलाई जिउँदै समातेर चारआलीको सर्पदंश उपचार केन्द्रमा पुर्याए । जहाँ उनको उपचार भइरहेको छ ।

मेचीनगर–६ का ३२ वर्षीय मुन्ना कार्की प्रख्यात सर्पउद्धारकको रुपमा चिनिन्छिन् । उनले जिल्लाका विभिन्न स्थानमा बिगत ११ वर्षमा एक हजारभन्दा बढी सर्पलाई मानिसका घरबाट उद्धार गरेर जंगलमा पुर्याइसकेको बताए। तर तीन दिन अघि छिमेकीको घरमा उद्धार गर्ने क्रममा विषालु गोमनले डस्दा उनी अहिले घाइते भएका छन्। उद्धार गरेर ल्याएको कालो गोमनलाई बट्टामा राखिरहेका बेला उनलाई डसेको थियो । उनको स्वास्थ्यमा हाल सुधार भइरहेको छ ।

हिउँदमा गुप्तबास बस्ने गरेका सर्पहरु बर्खा याममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । जसका कारण नेपालमा वर्षेनी सयौले ज्यान गुमाउने गरेका छन् । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदम गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउछन् । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहेका उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमा समेत सर्पको बिगबिगी बढ्न थालेको बताए ।

चारआलीको उपचार केन्द्रमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भारतको दार्जीलिङ एवम् बिहारका जिल्लाबाट सर्पले डसेका बिरामीहरु उपचारका लागि आउने गरेको उनले जानकारी दिए । “पहाडमा गुर्बे, हरेउ र तराईमा गोमन र करेत प्राणघातक सर्प हुन्,” उनले भने “हामीकहाँ उपचारका लागि आउने अधिकांश बिरामीले तिनै सर्पले डस्यो भन्ने गर्नु भएको छ । बर्खाको चार पाँच महिना त सर्पको डसाईको प्रकोप नै हुने गरेको छ ।” केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईले वि।सं। २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका घाइतेले सफल उपचार पाएको बताए ।

केन्द्रले विरामीको दर्ता शुल्क रु। एक सय र साधारण उपचार सेवा शुल्क रु ६०० मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु। एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम) को रु। एक हजार पाँच हजार र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु। तीन हजार मात्र शुल्क लिने गरिएको केन्द्रले जनाएको छ । विपन्न र असहाय बिरामीका लागि निःशुल्क समेत उपचार गर्दै आएको अध्यक्ष भट्टराईले बताए । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौं”–उनले भने

वर्षेनी एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१ जना, जेठमा १२३ जना र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । २०८० मा सर्पले डसेका ९७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिए । कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र रहेकोमा यस जिल्लामै चार वटा रहेका छन् । चारआलीस्थित नेपाली सेनाको व्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । नेपाल रेडक्रस सोसाइटीले दमक र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाई र कचनकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।

सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाहरुले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा उपचार केन्द्र सञ्चालनमा छन् ।(लोकतन्त्र पोष्ट अनलाइनबाट साभार)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖