• Friday 23rd of October 2026

आइतबारसम्म भारी वर्षा र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विभागका बाढीविद् तथा हाइड्रलोजिस्ट इन्जिनियर विजय ढुकुछुले आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासीपूर्व र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको जानकारी दिए ।

उनका अनुसार आज उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव पनि बढ्ने पूर्वानुमान छ । “भोलि भने देशभरका अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा आकस्मिक बाढी आउनसक्छ”, उनले भने ।

महाशाखाका अनुसार आज देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावमा छ । सबै प्रदेशका धेरै स्थानका मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

“भारी वर्षाको सम्भावमा भएका क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖