• Friday 23rd of October 2026

काठमाडौँ उपत्यकामा २४ घण्टादेखि वर्षा जारी


  • धनकुटा खबर
  • .

काठमाडौ । देशभरका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि वर्षा जारी छ।

यस क्रममा विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका पनि विभिन्न स्थानमा भारी तथा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ७:४८ बजे दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका एक स्थानमा धेरै भारी र ७ स्थानमा भारी वर्षा भएको हो।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी ललितपुरको लेलेमा १२४.८ मिलिमिटर वर्षा भएको छ। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्।

यसैगरी ललितपुरकै गोदावारीमा ९५ मिलिमिटर, काठमाडौँको नैकापमा ८६ मिलिमिटर, काठमाडौँकै कीर्तिपुरमा ८५.६ मिलिमिटर, ललितपुरको टीकाथलीमा ६७.६ मिलिमिटर, काठमाडौँको पानीपोखरीमा ६१.२ मिलिमिटर, काठमाडौँकै बबरमहलमा ५८.४ मिलिमिटर र काठमाडौँकै धापड्याममा ५७ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।

मौसमविद्को भाषामा ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।

मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत २४ घण्टादेखि काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ।

‘आज पनि दिनभर नै रोकिने सम्भावना छैन’, उनले भनिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖