चितवन– भरतपुर महानगरपालिका–२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ। नारायणी र राप्ती नदी मिसिने स्थानको टापुमा शव भेटिएको हो।
शव भेटिएको जानकारी पाएपछि सुरक्षाकर्मी त्यसतर्फ लागेको चितवनका सीडीओ इन्द्रदेव यादवले जानकारी दिएका छन्। शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट पहिरोसँगै दुइवटा बसहरु त्रिशूली नदीमा खसेका थिए।
त्यसमा रहेका तीन जना यात्रु झ्यालबाट हामफालेर निस्किए। अन्य यात्रु बसमै वगेको आशंका छ। खोजी गर्ने क्रममा एक भारतीय सहित ३ जनाको शव भेटिएर सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले बताए।
शनिबार गोलाघाटमै भारतीय नागरिक ऋषि पाल साहको शव भेटिएको थियो। उनी गणपति यातायातको बसमा चढेको खुलेको थियो। यसैगरी, शनिबारनै गैँडाकोटमा माडी–१ का २२ वर्षीय विकास परियार र सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कुशर माझीको शव फेला परेको थियो।
प्रहरीका अनुसार विकास एन्जल डिलक्स र रमित गणपति ट्राभल्सको बसमा सवार रहेको खुलेको छ।
