• Saturday 24th of October 2026

३० जना बढीलाई जोगाएर संसार छाडेका मेघराजकी आमालाई थाहा छैन मृत्युको खबर


  • धनकुटा खबर
  • .

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित बस चलाउँदा चलाउँदै टाउकोमा ढुंगा बज्रिएर ज्यान गुमाएका नवलपरासीका मेघराज विकको शव अहिले पोस्टमार्टम हुँदैछ।

भरतपुर अस्पतालमा पोस्टमार्टमको काम सकिएपछि आजै अन्तिम संस्कारका लागि शव लिएर जाने तयारीमा आफन्तजन छन्।

बसमा सवार ३० जनाबढी यात्रुलाई ५० मिटर पर पुर्‍याएर ब्रेक लगाउँदै ज्यान जोगाएका मेघराज आफू पनि बँच्न सकेनन्।

उनको निधनपछि अहिले सुनवल नगरपालिका–४ स्थित उनको जन्मथलो ‘रम्बापुर’ गाउँ शोकमग्न बनेको छ। आफन्तहरू मेघराजको शवको पर्खाइमा छन्।

मेघराजकी आमा भानुमतीलाई भने अहिलेसम्म छोराको मृत्युको खबर कानमा परेको छैन। आफन्त र छिमेकीले उनलाई छोरा दुर्घटनामा घाइतेमात्रै भएको खबर सुनाएका छन्।

उक्त घटना सुनेदेखि छोराकै मात्र नाम लिइरहेकी भानुमती कहिले सुरका त कहिले बेसुरका कुरा गर्दै बर्बराउँछिन्।

जेठा छोरा बुहारीले ‘उपचार हुँदैछ’ भनेपछि उनी मेघराज घर फर्कने आशामा छिन्।

चालकको टाउकामा ढुंगा बज्रिँदा पनि ब्रेक लगाउन भ्याउँदा जोगियो ३० जनाभन्दा बढीको ज्यान

‘मेघराजलाई अहिले सञ्चो भएको र आज भोलीमै घर ल्याउने हो भन्दै हामीले ढाडस दिएर राखेका छम्,’ स्थानीय सीता पौडेलले भनिन्, ‘आमाको मन त हो। छोराको दुर्घटनाको खबरले विक्षिप्त हुनुहन्छ। मेघराजलाई सञ्चो हुँदैछ। आज भोलिमै घर ल्याउने होँ भनेर सम्झाएका छौँ।’

आजै छोराको शव आँगनमा पुग्दा उनको अवस्था कस्तो होला भन्ने चिन्तामा आफूहरू रहेको पौडेलले सुनाइन्।

बिहीबार राति लु२ख ६५६६ नम्बरको बस बुटवलबाट काठमाडौँको लागि छुटेको थियो। बसमा करिब ३० जनाभन्दा बढी यात्रु थिए।

सोही बस चलाइरहेका थिए, विक।

गाडीमा सवार ३० जनाको ज्यान जोगिँदा मेघराज भने संसारबाटैै अस्ताए।

सडकमाथिबाट आएको एउटा ढुंगो मेघराजको टाउकोमा बज्रिएको थियो।

रातको समय प्रायः सबै यात्रुहरु निदाइरहेका थिए।

तर बसको क्याविनमै बसेका एक पुरुष यात्रु त्यो घटना देखेर बेस्सरी चिच्याए। टाउकोबाट रगतब बग्न थाल्यो। उनको टाउकोमा लागेको ढुंगा उछिट्एिर बसको सिसा समेत फुट्यो।

त्यसपछि मेघराजले आँखा लोलाउँदै करिब ५० मिटर पर लगेर बसमा ब्रेक लगाएर सबै यात्रुको ज्यान जोगाएका थिए।

बसमा सवार यात्रुहरूले मेघराजलाई बचाउन कष्ट नगरेका भने होइन्। तुरुन्त प्रहरीलाई खबर गरे।

प्रहरीले एम्बुलेन्स बोलाएर उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज पुर्‍याए।

३ बजेतिर दुर्घटनामा परेका मेघराजलाई ३ः३० तिरै अस्पताल पुर्‍याइसकिएको चितवन प्रहरीले जानकारी दिएको छ।

मेघराजको परिवारमा आमा, दाजुभाउजु र भतिजाहरू छन्।

मेघराजको दुई वर्षअघि सुनवलकै शोभा विकसँग बिहे भएको थियो। गत मंसिरमा मात्रै उनीहरूबीच सम्बन्ध विच्छेद भएको स्थानीयले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖