विराटनगर । मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर छाडिदिएका एक वृद्धलाई वनकर्मीले उद्धार गरेका छन् ।
बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो । हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका छन् ।
वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । उनले भने, “चार दिन अगाडि नै बीच जंगलमा लगेर छाडिदिएका रहेछन् । वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । मोटरसाइकलमा बसाएर बीच जंगलमा लगेर छाडिदिएका रहेछन् ।”
वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको बताए ।
