• Wednesday 28th of October 2026

छोरीलाई प्रयोग गरेर महन्थ ठाकुरलाई वशमा पार्दै २० औं पटक मन्त्रीको शपथ


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपालको बहुदलीय इतिहासमै सबैभन्दा धेरै २० औं पटक मन्त्री बनेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले अहिले मन्त्री बन्नको लागि पार्टी अध्यक्ष महन्थ ठाकुरलाई उनकै छोरीमार्फत वशमा पारेको खुलासा भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी सहभानगी हुने तय भएपछि यसपटक मन्त्री ‘नबन्ने’ चर्चा गरिएका भण्डारी अन्तिम समयमा अचानक मन्त्रीको सूचीमा अटाएका थिए। लोसपाले पाएको एकमात्र मन्त्रालयमा पार्टीमा अन्य आकांक्षी हुँदाहुँदै पनि सबैभन्दा धेरै अवसर पाएका भण्डारी नै फेरि पनि दोहोरिएका हुन्।

लोसपा सरकारमा सहभागी हुने तय भएपछि मन्त्री बनाएर कसलाई पठाउने भन्ने निर्णय गर्न बसेको पार्टी बैठकमा समेत भण्डारी उपस्थित थिएनन्। उनले पार्टीका सहकर्मीहरुमाझ यसपटक आफ्नो मन्त्री पदमा दाबी नभएकोले मन्त्री तय गर्ने बैठकमा पनि सहभागी हुन आवश्यक नभएको हल्ला फैलाएका थिए। तर, भित्रभित्रै उनको अर्कै चलखेल चलिरहेको थियो।

स्रोतका अनुसार पार्टीले एक मन्त्रालय पाउने भएपछि पार्टी अध्यक्ष महन्थ ठाकुरले यसपटक रुपन्देहीबाट निर्वाचित सांसद सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउने आश्वासन दिएका थिए। शुक्ललाई मन्त्री बनाउने कुरामा पार्टीका अधिकांश नेताहरु पनि सहमत थिए। तर, अन्तिम समयमा पासा पल्टियो।

सरकारमा मन्त्री पठाउने विषयमा पार्टी पदाधिकारी बैठक चलिरहँदा बैठकमा नगएका भण्डारीले अध्यक्ष महन्थ ठाकुरकी छोरीसँग अर्कै खिचडी पकाइरहेको स्रोत बताउँछ। पार्टीमा मन्त्री छान्ने कसरत भइरहँदा भण्डारीले अध्यक्ष ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरलाई वशमा पारिसकेका थिए। मिनाक्षीलाई हातमा लिन ठूलै आर्थिक लेनदेन भएको हुन सक्ने स्रोत बताउँछ।

अध्यक्षकी छोरी मिनाक्षीलाई प्रभावमा पारिसकेपछि भण्डारीले उनैमार्फत अध्यक्ष ठाकुरलाई दबाब दिएका थिए। छोरीले भण्डारीलाई नै पुनः मन्त्री बनाउन आग्रह गर्दा सुरुमा त अध्यक्ष ठाकुरले मानेका थिएनन्। तर, सन्तान हठका अगाडि अन्ततः उनले हार माने र भण्डारीलाई नै पुनः मन्त्री बनाउन तयार भए।

भण्डारीलाई नै पुनः मन्त्री बनाउनुपर्ने भन्दै पिताकहाँ पुगेकी ठाकुरपुत्री मिनाक्षीले यसअघि श्रम मन्त्री नै रहेका भण्डारीले आफूले सुरु गरेका योजना पूरा गर्न नपाएकोले ती योजना पूरा गर्न उनलाई अवसर दिनुपर्ने दावी गरेकी थिइन्।

यसअघि प्रचण्ड सरकारमा भण्डारी श्रम मन्त्री नै थिए। ४ महिनाअघि भण्डारी श्रम मन्त्री रहेकै बेला प्रचण्ड सरकार नेपाली कांग्रेसको साथ छोडेर एमालेतिर गएपछि भण्डारी पदबाट बाहिरिएका थिए।

प्रतिनिधि सभा निर्वाचनपछि एमालेको समर्थनमा प्रचण्ड सरकार गठन भएपछि श्रम मन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याललाई विस्थापित गर्दै भण्डारी मन्त्री बनेका थिए।

प्रचण्डले एमाले छाडेर कांग्रेससँग मिल्न पुगेपछि बनेको गठबन्धनमा लोसपा सहभागी भएको थियो। पछि प्रचण्ड एमालेसँग मिल्न पुगेपछि बनेको नयाँ गठबन्धनमा भण्डारीलाई डोलप्रसाद अर्यालले नै विस्थापन गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖