• Wednesday 28th of October 2026

इनकाउन्टर स्पेसलिष्ट सई सन्जेलले फेरि पाए विशेष बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल प्रहरीका महानिरिक्षक(आईजीपी) बसन्तबहादुर कुँवरले नायब निरिक्षक(सई) बालकृष्ण सन्जेललाई विशेष बढुवा दिएका छन्।

प्रहरी नियमावलीअनुसार आईजीपी कुँवरले सन्जेलसहित १० जनालाई विशेष बढुवा दिएका हुन्। सई सन्जेल बरिष्ठ सईमा बढुवा भएका छन् ।

प्रहरी नियमावलीअनुसार हरेक वर्ष आईजीपीले सईसम्मका दर्जामा बढीमा १० जनालाई बढुवा गर्ने व्यवस्था रहेको छ। सन्जेल लागु औषध कारोबारी र गुन्डाहरुलाई गोली हानेर चर्चामा आइरहने प्रहरी हुन्।

सन्जेल यसअघि पनि विशेष बढुवा पाएर जवानबाट हवल्दार, हवल्दारबाट असई र असईबाट सई बनेका थिए। लामो समय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरेका उनी हाल लागु औषध नियन्त्रण ब्युरोमा छन्। पछिल्लो समय लागु ‍औषध कारोबारीविरुद्ध देशभर भएका गोली प्रहारका घटनामा सन्जेल संलग्न रहेको बताइन्छ।

२०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेका सन्जेल २०५९ सालमा हवल्दार, २०६७ सालमा असई र २०७३ सालमा सईमा बढुवा भएका थिए। सन्जेलका अधिकांश भर्ना ब्याजीहरु असई छन्।

सन्जेल ३३ केजी सुन वेपत्ता र भरिया सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा कमजोरी गरेको भन्दै तत्कालिन एसएसपी दिवेश लोहनीसहित पक्राउ परेका थिए।

अदालतले पछि उनीहरुलाई सफाई दिएको थियो। सफाई पाएर काममा फर्किएयता सन्जेलले विशिष्ट काम गरेको भन्दै आईजिपी कुँवरले उनलाई विशेष बढुवा दिने निर्णय गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖