• Wednesday 28th of October 2026

पूर्व महामन्त्री ढकालले गम्भीर आरोप लगाउँदा समेत वाग्ले र लामिछानेले मुख खोलेनन्


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेमाथि पार्टीकै पूर्व महामन्त्री डा. मुकुल ढकालले गम्भीर आरोप लगाएका छन् । भारतीय राजदूतसँगको आफूसहित सभापति लामिछाने र उपसभापति वाग्लेको भेटवार्ताको खुलासा गर्ने क्रममा मुकुलले गम्भीर आरोप लगाएको विषय अहिले सञ्जालमा चर्चाको विषय बनेको छ ।

ढकालले पत्रकार टिकाराम यात्रीसँगको टिभी अन्तर्वार्तामा रवि लामिछानेले आफू प्रधानमन्त्री बन्ने शर्तमा भारतलाई जेपनि बुझाउन तयार छु भनेको खुलासा गरेका थिए । उनले भनेका थिए,‘पार्टीमा भारत मामिला हेर्ने जिम्मा मलाई थियो । रवि लामिछानेले बारम्बार के भन्नुभएको थियो, भारतलाई म जे पनि बुझाउन र जे पनि तयार छु, मलाई प्रधानमन्त्री बनाउनको लागि भारतलाई मनाउँ भनेर उहाँले मलाई पठाउनुभयो । र, त्यसपछि मैले त्यो कुरा कहिल्यैपनि गर्न सकिनँ ।’

ढकालले रवि लामिछानेमाथि संगिन आरोप लगाईराखेको बेलामा पत्रकार यात्रीले राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको र सार्वजनिक कार्यक्रममा बोलेको कुरा हो भन्दै सम्झएपछि उनले आफू लाइभ डिटेक्शन दिन तयार रहेको दाबी गरे ।

लामिछाने गृहमन्त्री भैसकेपछि आफूहरुले नेपालस्थित् भारतीय राजदूतलाई पनि भेटेको उनले स्पष्ट पारेका छन् । उक्त भेटमा लामिछाने, वाग्ले, शिशिर खनाल र आफू सहभागी रहेको जनाएका छन् । होटेलमा भएको भेटपछि लिफ्टबाट तल ओर्लिने क्रममा स्वर्णिम वाग्लेले आफूसँग भनेको कुरा स्मरण गराउँदै ढकालले भनेका छन्–‘नेपाल देशलाई भारतको राज्य बनाइदिनका लागि या भुटान स्टेट बनाइदिनका लागि एग्रिमेन्ट गरिदिने, त्यो गरिसकेपछि यिनीहरुले मान्छन् भनिसकेपछि मलाई त्यतिवेला झनक्कै रिस उठ्यो । यो उहाँले भनेकै हो । यसबारेमा कुनैपनि प्रकारको छानबिनको लागि जान म तयार छु ।’

सभापति लामिछाने र उपसभपाति वाग्लेले आफूहरुमाथि मुकुल ढकालले यत्रो आरोप लगाएर सार्वजनिक बहसको विषय बन्दासमेत अहिलेसम्म मुख खोलेका छैनन् । उनीहरु आफूहरुमाथि विभिन्न दलका नेताहरुले लगाउने आरोपबारे सञ्जालमा छताछुल्ल हुने गरेका थिए ।

तर, देशको राष्ट्रियता र स्वाधिनताको विषय जोडेर मुकुलले उनीहरुमाथि यत्रो ठूलो आरोप लगाउँदासमेत दुवै नेता बोलेका छैनन् । हुन त मुकुलको आरोपलाई सञ्जालमा समेत मजाक बनाएर उडाईएको छ । तर, रवि र स्वर्णिमले यो विषयमा बोलिदिए हुन्थ्यो भन्ने रास्वपाका नेता तथा कार्यकर्ताहरुको चाहना छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖