• Wednesday 28th of October 2026

उपसभामुख रानाले काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रले विवाद


  • धनकुटा खबर
  • .

काठमाडौ । उपसभामुख इन्दिरा रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको छ।

सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्। उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गरेकी थिइन्।

रानाले पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन्।
एक वर्षपछि उपसभामुख रानाले लेखेको पत्र विवादमा आउनुका केही कारण छन्।

पहिलो, उपसभामुख समेत रहेकी सांसद रानाले रातो पासपोर्ट प्रयोग गर्न पाउँछिन्। रातो पासपोर्ट बोक्ने व्यक्तिले निःशुल्क भिसा प्राप्त गर्छ भने अध्यागमनको प्रक्रियामा सहजताका साथै केही कूटनीतिक उन्मुक्ति प्राप्त गर्छ। उपसभामुखलाई कुनै आधिकारिक भ्रमणको निम्तो आएको अवस्थामा उनलाई संघीय संसद सचिवालयले भ्रमणको प्रबन्ध मिलाउनेदेखि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने काम गर्छ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद सचिवालयमा यस्तो भ्रमणहरूको व्यवस्थापन तथा सहजीकरणका लागि अन्तराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा नै छ। तर उपसभामुख रानाले आफ्नै लेटरहेडबाट आफै पत्राचार गरेको देखिन्छ।

दोस्रो, रानाले उपसभाुमखको लेटरहेडबाट आफूसँग जाने भ्रमण टोलीमा संघीय संसद सचिवालयसँग सम्बन्धित नै नरहेका मानिसहरुलाई ‘डेलिगेट्स’का रूपमा उल्लेख गरेकी छिन्। जसबाट उनले कस्ता व्यक्तिका लागि आफ्नो लेटरहेडबाट भ्रमणको सहजीकरणका लागि सिफारिस गरिन् भन्ने प्रश्न उठेको छ।

सेतोपाटीसँग कुराकानी गर्दै उपसभामुख रानाले भने आफूसँगै साइकल कुदाउने गरेका एक जना भाइले सिफारिस माग गरेकाले आफूले पत्र लेखेको बताइन्।

‘मसँगै झापामा साइकल कुदाउने भाइले ‘हामीलाई सिएसडब्लुबाट निम्तो आएको छ। दूतावासमा प्रि-डेट मागिदिनु न, नत्र एक वर्ष पर्खनुपर्ने भयो’ भन्यो,’ रानाले सेतोपाटीसँग भनिन्, ‘अन्तर्वार्ताको मिति मिलाइदिनुपर्‍यो भनेकाले पत्र दिएको हो। उसले अर्को सिफारिस पत्र पनि मागेको थियो। तर हामीले दिएनौँ।’

उनले नाम उल्लेख भएका ६ जना मध्ये एक जनासँग मात्र आफ्नो चिनजान रहेको बताइन्। ‘मैले अन्तर्वार्ताको प्रि-डेटका लागि पनि पत्र दिन मानेको थिइनँ,’ रानाले भनिन्, ‘तर उनीहरूले प्रिडेटको लागि मात्र हो भनेर धेरैपल्ट धाए। मैले हतार हतारमा पत्रमा हस्ताक्षर गरेँ कि! मेरो हस्ताक्षर छ। यो पत्रको कुनै रेकर्ड मेरो सचिवालयमा पनि छैन।’
उनले आफू पनि सोही समयमा अमेरिका गएर फर्किएको बताइन्। तर सिएसडब्लुको कार्यक्रममा भने सहभागी हुन नसकेको उल्लेख गरिन्।
‘त्यतिबेला राष्ट्रपतिको चुनावका लागि मतदान गर्न आउनुपर्ने भयो। म दुई-तीन दिनमै फर्किएँ’, रानाले सेतोपाटीसँग भनिन्।

पत्रमा नाम भएका व्यक्तिहरू आफूसँग अमेरिका नगएको उनले बताइन्।
‘उनीहरूले प्रि-डेट नै पाएनन्। मैले उनीहरुका लागि भिसा मागेको होइन। डेटसम्म मागेको हो। जबकी त्यतिबेला मसँग त दुई-तीन वटा निमन्त्रणा थियो। मलाई अमेरिकाको न्यूजर्सीको नगरपालिकाले त्यही भ्रमणका बेला प्रोक्लामेसन लेटर दिएको छ,’ रानाले भनिन्, ‘त्यहाँ मैले नारी दिवसको कार्यक्रममा सम्बोधन पनि गरेको छु।’

उपसभामुख रानाले आफूलाई अहिले बदनाम गर्न खोजिएको बताइन्। मानव तस्करी गर्न खोजिएको भन्दै कतिपयले लगाएको आरोपमा भने उनले खरो प्रतिवाद गरिन्।

‘त्यस्ता कुरा मलाई सुन्दा नै घृणा लाग्छ,’ रानाले भनिन्, ‘मलाई आरोप लगाउन त प्रमाणित गर्नुपर्छ। अध्यागमन जाँच गरे भइहाल्छ नि। सबैको पासपोर्टको नम्बर त्यहीँ पत्रमा छ। मसँग कोही गएको छैन। नेपालबाट म र लक्ष्मी भण्डारी गएका छौँ। कतारको ट्रान्जिटमा बन्दना राणासँग भेटेर फोटो खिचाएको छु। मैले लिएर जानुपर्‍यो नि तस्करीमा त!’
रानाले आफूले जिल्लावासी भएको र मत दिएको नाताले अविभावकका रूपमा मात्र सहयोग गरेको बताइन्।

‘मैले प्रि डेट माग्न सहयोग गरेको हो। धनीहरू त सबै गइरहेका छन्। गरिबहरूले त कहिल्यै मौका पाउँदैनन्। जाओस् कार्यक्रममा सहभागी होस् भनेर मैले त्यति गरेको हो। सिरियस्ली केही सोचिनँ,’ रानाले भनिन्, ‘मसँग त रातो पासपोर्ट छ नि। मैले त उनीहरूलाई प्रि-डेट देओस् भनेर त्यो कार्यक्रममा म पनि जाँदैछु पो भन्न खोजेको हो।’
आफूले उक्त पत्र अञ्जानवश पठाएको रानाले बताइन्।

‘अब कसैले यस्तो पत्र पाउँदैन। कसैलाई धर्म गर्न पनि नहुने रहेछ,’ रानाले भनिन्, ‘लेटरप्याडको कुरा पनि उठेको छ। अब वडाध्यक्ष वा नगरपालिकाका मेयरले लेटरप्याडमा सिफारिस गर्दैन र? अनि सांसद र उपसभामुखको पनि आफ्नै लेटरप्याड प्रयोग गरेको हो। संसद सचिवालयको होइन। मैले पनि शुभकामना दिने, परियोजना देऊ भन्नका लागि लेटरप्याड प्रयोग गर्ने न हो।’

उनले आफू सभामुख भएको दुई वर्षपछि अहिले पत्र बाहिरिनु नियोजित भएको बताइन्।
‘यो नियोजित देखिन्छ,’ रानाले भनिन्, ‘मैले अञ्जानवश सहयोग गरेको हो।’

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने सांसदहरूले व्यक्तिगत रूपमा गर्ने पत्राचार कतिपय भ्रमणबारे संघीय संसद सचिवालयलाई समेत जानकारी नहुने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖