• Tuesday 6th of October 2026

निराहार व्रत बस्दा स्वास्थ्यमा कस्तो असर पर्छ?


  • धनकुटा खबर
  • .

हिन्दु नारीहरुको महान पर्व तीजमा पतिको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने परम्परा रहँदै आएको छ । भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म चार दिन तीज पर्व मनाइन्छ ।

परापूर्वकालमा पार्वतीले महादेव स्वामी पाऊँ भनेर निराहार व्रत बसेको धार्मिक विश्वास छ । विशेषगरी विवाह गरेर पराइ घर गएका छोरीचेलीहरु, बाध्यताले घरबाहिर भएका, टाढा–टाढा छरिएका दिदीबहिनीहरु आफ्नो जन्मघरमा जम्मा भएर दुःखसुख साट्ने, रमाइलो गर्ने चाडका रूपमा पनि तीजलाई लिने गरिन्छ ।

तीजको दिन विवाहित महिलाले पतिको लामो आयुका लागि निराहार व्रत बस्ने गर्दछन् । धार्मिक परम्परा अनुसार महिलाहरुले पानी पनि नपिई व्रत बसे अविवाहित महिलाले राम्रो श्रीमान् पाउने र विवाहित महिलाहरुको भने श्रीमान्को दीघार्युसँगै राम्रो हुने जनविश्वास छ । तर निराहार पानी पनि नपिई दिनभर व्रत वस्नु स्वास्थ्यको दृष्टिकोणले स्वस्थकर नहुने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

तीजको व्रत अरूभन्दा कठोर मानिन्छ । किनकि तीजको व्रत पानी पनि नखाइ बस्दा मनले आँटेको पूरा हुने जनविश्वास छ । व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो तर स्वास्थ्यमा ख्याल गरिएन भने यसले गम्भीर असर गर्छ । कस्ता महिलाले तीजको व्रत बस्नु हुन्छ कस्ता महिलाहरुले हुँदैन? निराहार व्रत बस्दा स्वास्थ्यमा के–कस्ता समस्याहरु देखापर्छन् भन्ने सन्दर्भमा डायटिसियन डा.सोभा शाक्यसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:

तीजको अघिल्लो दिन टन्न रातको १२ बजेसम्म दर खाने र भोलिपल्ट दिनभर व्रत बस्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?
अघिल्लो रात टनक्कै खाएर भोलिपल्ट निराहार व्रत वस्दा अपचको समस्या, ग्यास्ट्रिकको समस्या देखापर्ने सम्भावना रहन्छ । अघिल्लो एक दिनमात्रै धेरै खाएर भोलिपल्ट व्रत बस्दा धेरै असर पर्दैन तर अहिलेको परिवेशमा एक महिनाअघिबाट नै एकदमै धेरै दर खाने गर्नुहुन्छ । यसकारण पेटसम्बन्धी समस्या देखा पर्छ ।

स्वास्थ्यका दृष्टिकोणले निराहार व्रत बस्नु सहि या गलत हो ?
निराहार व्रत बस्नु स्वस्थकर पक्कै हैन । किनकि निराहार व्रतमा पानी समेत खाइँदैन । हाम्रो शरीरलाई पानी अत्यन्त आवश्यक कुरा हो । त्यसमाथि गर्मीको समयमा पसिना आउँछ । तीजमा व्रत बस्दा नाँचगान गरेर रमाइलो गरिन्छ । यसकारण पानीको पनि सेवन नगर्दा डिहाइड्रेसन हुने सम्भावना रहन्छ । सकभर निराहर व्रत नबस्दा राम्रो हुन्छ ।

कस्ता महिलाहरुले व्रत बस्न मिल्दैन ?
कुनै पनि रोग नलागेको नर्मल हेल्दी मानिसहरुले व्रत बस्दा फाइदा पनि हुन्छ । तर डायबेटिज, उच्च रक्तचाप, मृगौलाको बिरामी लगायत समस्या भएका व्यक्तिहरुले औषधी लिइरहेका छन् भने व्रत नलिदा नै उचित हुन्छ ।

फलफुल खाएर व्रत बस्नु र निरहार व्रत बस्नुमा के फरक छ ? र तपाई कस्तो व्रत बस्न सुझाउनुहुन्छ ?
आज एकदिन व्रत लिएर तपाईं भोलिपल्ट बिरामी पर्नुहुन्छ भने शरीरलाई अनावश्यक दुःख दिएर व्रत नबस्नुहोस् । अब फलफुल खाने कुराहरुमा भने यति डायबेटिजको बिरामी र इन्सुलिन लिइरहनुभएको छ भने फलफुल मात्रै खाएर पनि इन्सुलिन लगाउन मिल्दैन । यसकारण मुख्य कुरा पानी पिउनुहोस् र माछा मासु र नुनिलो खानेकुरा नखाएपनि फलफुल, रोटी लगायत अन्य अन्नहरु सकभर मात्रा मिलाएर सेवन गर्नुहोस् ।

दिनभरी भोकै बसेपछि प्रायजसोले बेलुका निकै नुनिलो, पिरो स्पाइसी खाना खाइन्छ । लामो समय भोकै रहेर एकैपटक मिश्रित भोजन गर्दा शरीरमा कस्तो असर पर्छ ?

दिनभरी केही नखाइ बेलुका टन्नै खाँदा अपचको समस्या त हुने नै भयो । अर्को ग्यास्ट्रिकको समस्याले पनि सताउन सक्छ । दिनभरी भोकै बसेपछि बेलुका सन्तुलित भोजन गर्नुपर्छ । एकैपटक भोक लागेको छ भनेर धेरै थरीका खानेकुराको सेवन गर्नु राम्रो होइन । अझ स्पाइसी मसालेदार खानेकुराहरु खानुभयो भने पेटको सन्तुलन बिग्रन्छ ।

स्वास्थ्यका हिसाबले सही तरिकाले कसरी व्रत बस्न सकिन्छ ?

धार्मिक हिसाबले व्रत बस्दा खान नहुने खानेकुराहरुको सेवन नगरेपनि व्रत बस्दा खान मिल्ने खानेकुराहरु जस्तैः गेडागुडीहरुको सलाद बनाएर, अन्नहरु, दालहरु, काक्रो लगायत पानी प्रशस्त भएका फलफूलहरुको सेवन गरेर व्रत बस्नुभयो भने स्वास्थ्यमा समस्या हुँदैन ।

व्रत बस्नुका फाइदाहरु र बेफाइदाहरु के कस्ता छन् ?
जो व्यक्तिहरु मोटो हुनुहुन्छ उहाँहरु हप्तामा एकपटक व्रत बस्दा फाइदा नै पुग्छ । सधै खाइरहँदा कहिलेकाहीँ शरीरलाई आराम पनि चाहिन्छ । मोटोपनले सताएको मान्छेलाई फास्टिङले तौल घटाउन पनि सहयोग गर्छ । र बेफाइदा भनेको बिरामी शारीरिक रुपमा कमजोरी र बिरामी व्यक्तिहरु व्रत बस्नुभयो भने ठुलो स्वास्थ्य दुर्घटना समेत हुनसक्छ । यसकारण स्वास्थ्यलाई ध्यानमा राखेर व्रत बस्नुपर्छ ।

व्रत बस्दा मानसिक शान्ति अत्यन्त आवश्यक हुन्छ, ध्यान वा प्राथना गर्नुपर्छ । जसले गर्दा मन शान्त र स्थिर हुन्छ । त्यस्तै व्रत बस्दा आरामदायक कपडा लगाउनुपर्छ । शरीरलाई न्यानो र सजिलो महसूस हुने कपडा छनोट गर्नुपर्छ । जसले शरीरलाई आरामदायी राख्न मद्दत पुर्‍याउँछ ।

व्रत बस्दा प्यास लाग्न सक्छ । धेरैजना निर्जल व्रत बस्ने गर्नुहुन्छ । तर, व्रतमा पर्याप्त पानी पिउन जरुरी हुन्छ । यसले शरीरलाई हाइड्रेट राख्छ । त्यस्तै व्रत बस्दा अत्यधिक शारीरिक श्रम पनि गर्नु हुँदैन । शरीरलाई आराम दिनुपर्छ । दिनभर व्रत बसेपश्चात् फलफूल, नरिवल पानी र जुसजस्ता स्वास्थ्यवर्धक खानेकुराको सेवन गरेर व्रत तोड्नुपर्छ । यसले शरीरलाई पुनः ऊर्जावान बनाउँछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖